मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा ५२ प्रकारका महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समाधान गर्न सक्ने उद्देश्यले सुक्ष्म निगरानी प्रणाली लागू गरिने भएको छ।
शुक्रबार पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई कार्यक्रम सञ्चालनसम्बन्धी जानकारी पत्र हस्तान्तरण गरेका हुन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा यो कार्यक्रम सञ्चालन हुने जनाइएको छ। गाउँपालिका अध्यक्ष कालाखेतीका अनुसार गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको नियमित निगरानी हुनेछ।
लामिछानेले तथ्यांक संकलनलगायत आवश्यक सहयोगका लागि गाउँपालिकालाई अनुरोध गर्दै, पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा कार्यक्रम सुरु गरिने जानकारी दिए। मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका कार्यक्रममा समेटिएका छन्। बागमती प्रदेशमा भने आठ वटा स्थानीय तहमा लागू हुनेछ।
कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन गरिनेछ। उक्त टिममा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक तथा जनप्रतिनिधि सहभागी हुनेछन्। उनीहरूलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षण तथा प्रतिवेदनमा सक्रिय बनाइने जनाइएको छ।