कैलाश गाउँपालिकामा हाल १६ जना क्षयरोगका विरामीले नियमित औषधि सेवन गरिरहेका छन्। विहीबार आयोजित क्षयरोगसम्बन्धी वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार आव २०८१/८२ मा गाउँपालिकाका विभिन्न वडामा गरी १६ जना विरामी दर्ता भएका छन्। वडा नम्बर ३ मा ९ जना, वडा ८ मा २ जना, वडा ९ मा ४ जना र वडा ५ मा १ जना क्षयरोगका विरामी रहेका छन्। उनीहरूले स्वास्थ्य संस्थाबाट नियमित उपचार र औषधि सेवन गरिरहेका भए पनि अझै थप परीक्षण आवश्यक रहेको गौतमले बताए।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले क्षयरोग नियन्त्रणका लागि पालिकामा रहेका दुईवटै ल्याबलाई प्रभावकारी प्रयोग गर्दै परीक्षण सेवा विस्तार गर्नुपर्ने बताए। संक्रमित विरामीको औषधि सेवनमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्दै उनले क्षयरोग परीक्षण शिविर सञ्चालनको तयारी गर्न निर्देशन दिएका छन्। उनका अनुसार शिक्षा र स्वास्थ्य सूचक वित्तीय समानीकरणको अनुदान वृद्धिमा महत्वपूर्ण आधार हुने भएकाले यस क्षेत्रमा प्राथमिकता दिनुपर्ने छ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेलले वडातहका स्वास्थ्य चौकीमा देखिएका कमजोरी सुधार्न आग्रह गर्दै नागरिकलाई दिने सेवामा कमी नआउन निर्देशन दिए। “क्षयरोग परीक्षण संख्या अझै कम छ, यसको दायरा बढाउनुपर्छ,” उनले भने।
स्वास्थ्य शाखा प्रमुख गौतमले लाजका कारण धेरै नागरिक परीक्षणमा नआएको बताउँदै अन्य स्थानमा परीक्षण भए पनि स्वास्थ्य संस्थामा रिपोर्ट नआउँदा लुकेको क्षयरोग पत्ता लगाउन समस्या भइरहेको जानकारी दिए।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि कान्ज्यकुमार चौधरी, सुजन थापा, पालिकाभित्रका स्वास्थ्य चौकीका इन्चार्जलगायतको सहभागिता रहेको थियो।