हेटौंडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार उनलाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका हुन्।
मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै डा. सापकोटा जस्तो अनुभवी चिकित्सकको नेतृत्वमा सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरणमा सुधार हुने विश्वास व्यक्त गरे।
चितवन निवासी डा. सापकोटा यसअघि अस्पतालका कार्यवाहक निर्देशकका रूपमा कार्यरत थिए। उनले पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमएस अर्थोपेडिक्स अध्ययन पूरा गरेका हुन्। लामो समयदेखि अर्थोपेडिक सर्जनका रूपमा सेवा गर्दै आएका उनले नियुक्तिपछि अस्पताललाई गुणस्तरीय, बिरामीमैत्री र शैक्षिक दृष्टिले अग्रणी बनाउन प्रतिबद्ध रहने बताए।
नव नियुक्त निर्देशक सापकोटाले उपकुलपति डा. ज्ञवालीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे। सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख सागर घिमिरे, डा. खगेश्वर गेलाल, अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्यहरू उत्सव चौलागाईं, हिरा वाइबा, लक्ष्मी पौडेल, प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्की, प्रशासन प्रमुख अमर अधिकारीलगायतको उपस्थिती थियो।