हेटौंडा/बागमती प्रदेश सरकारले प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्यलाई थप सुदृढ गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरेको छ।
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न अन्तरक्रियात्मक बैठकले सो निर्णय गरेको हो। बैठकमा जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश, नेपाल नगरपालिका संघ बागमती प्रदेश, र गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ पार्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ, र गाउँपालिका महासंघबीच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय पनि गरेको छ।
यसै क्रममा जेन–जी पुस्ताले विभिन्न मागसहित सुरु गरेको आन्दोलनका क्रममा घटेको दुःखद घटनाप्रति बैठकले गहिरो दुःख व्यक्त गरेको छ। प्रहरीको गोली प्रहारबाट भएको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा संघीय सरकारले तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने र प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
बैठकले आन्दोलनमा उठाइएका विषयहरूलाई शान्तिपूर्ण र संयमित ढंगले सम्बोधन गर्न सरोकारवाला सबै पक्षसँग संवादमा बस्ने निर्णय पनि गरेको छ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, प्रमुख सचिव भूपाल बराल, प्रदेश सचिव रितेश शाक्य, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष ललित घलान, नगरपालिका संघका संयोजक उपेन्द्र कार्की, र गाउँपालिका महासंघका अध्यक्ष कर्णबहादुर मगर लगायत तीनवटै संघ/महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।