मनसुनी वायु सक्रिय बनेपछि बिहीबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले दसैंको समयमा धेरै मानिसहरू यात्रा गर्ने भएकाले आगामी चार दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार विशेषगरी वागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशअन्तर्गत संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट तथा आसपासका जिल्लामा बग्ने स–साना नदीहरूमा आकस्मिक बहाव बढ्ने जोखिम उच्च देखिएको छ।
मौसमविद्हरूका भनाइअनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। सो प्रणालीकै कारण नेपालमा मनसुनी वायु सक्रिय बनेको हो।
हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला, कोशी नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र खतराको तह नजिक पुग्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने स–साना नदी–नालामा समेत आकस्मिक बाढी आउने जोखिम रहन सक्ने चेतावनी दिइएको छ।
नेपालमा मनसुन अझै बहिर्गमन नभएकाले विभागले मौसम र बाढीसम्बन्धी सम्भावित विषम अवस्थाको नियमित अनुगमन भइरहेको जनाएको छ।







