गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको हेटौंडा उपमहानगरपालिकाको शववाहन सट्टा नयाँ सवारी सञ्चालनका लागि तयार भएको छ।
उपमहानगर प्रमुखका अनुसार, आन्दोलनका क्रममा नगरपालिकाको कार्यालयसहित विभिन्न सार्वजनिक सम्पत्तिहरू क्षतिग्रस्त भएका थिए। तर शववाहन जलेको खबर सुन्दा आफू अत्यन्तै दुःखी बनेको बताउँदै प्रमुखले भनिन्, “आफ्नै घर जलेकोमा पनि त्यति दुःख लागेको थिएन, तर शववाहन जलेको सुन्दा आँसु रोक्न सकिनँ।”
उनका अनुसार शववाहन उपमहानगरपालिकाको सानो तर अत्यन्त महत्वपूर्ण सेवा हो, जसले नगरवासीलाई जीवनको सबैभन्दा दुःखद क्षणमा सहयोग पुर्याउँछ। “कुनै परिवारले मृतकलाई बोक्न सास्ती भोग्न नपरोस् भन्ने सोचले मैले यो जिम्मेवारी आफैं लिएकी थिएँ,” उनले भनिन्।
सरकारी खरिद प्रक्रिया जटिल भएकाले तत्काल नयाँ सवारी खरिद गर्न नसकिएको भए पनि अहिले नयाँ शववाहन सञ्चालनका लागि तयारी पूरा भएको प्रमुखले जानकारी दिइन्।
“अब कुनै परिवारले मृतक बोक्न समस्या व्यहोर्नु पर्ने छैन। उपमहानगरपालिकाको कार्यालय वा जनप्रतिनिधिसँग सम्पर्क गरेर यो सेवा लिन सकिनेछ,” उनले भनिन्।
अन्त्यमा उनले भनिन्, “शववाहन नचाहिने मानिस धर्तीमा को जन्मिएको होला र? सबै जले पनि शववाहन जोगिएको भए त्यो मानवीय चेतनाको उत्कृष्ट उदाहरण हुने थियो।”








