हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफ्नो सेवासुविधाबाट निर्माण गराइएको घर मनहरी गाउँपालिका–९ ज्यामिरेकी मिठुमायाँ सुनारलाई आगामी आइतबार हस्तान्तरण गर्न लागेका छन्।
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा बनेको उक्त घर हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमा बस्न पाउने भएकी छन्। तिहार पर्वको अवसरमा कार्तिक २ गते आइतबार बिहान विशेष कार्यक्रममार्फत घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्र राक्सीराङ्ग गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङका लागि निर्माणाधीन अर्को घर पनि छिट्टै सम्पन्न गरी कात्तिक महिनाभित्रै हस्तान्तरण गरिने जनाएको छ।
यसअघि मुख्यमन्त्री बानियाँले मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई एक लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए।
मुख्यमन्त्री बानियाँले नेतृत्व गरेको पहिलो मन्त्रिपरिषद् बैठकमै आफूले पाउने तलब, भत्ता र सचिवालयका सेवासुविधा कटौती गरी विपन्न परिवारका लागि घर निर्माणमा खर्चिने घोषणा गरेका थिए।
त्यसैगरी, उक्त बैठकले आर्थिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षाका लागि पूर्ण छात्रवृत्ति दिने र चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरियालगायत अति विपन्न तथा सिमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न नीतिगत व्यवस्था गर्ने निर्णय पनि गरेको थियो।







