हेटौंडा/ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण प्रभावित न्यायिक निकायहरूलाई राक्सिराङ्ग गाउँपालिकाले आवश्यक उपकरण हस्तान्तरण गरेको छ।
आन्दोलनका कारण जिल्ला सरकारी वकिल कार्यालय हेटौंडा र उच्च अदालत (पाटन) हेटौंडा इजलासको नियमित न्यायिक कार्य सञ्चालनमा असहजता र अवरोध सिर्जना भएको थियो। न्यायिक सेवालाई सहज र प्रभावकारी बनाउन गाउँपालिकाले सहयोगस्वरूप कम्प्युटर, स्क्यानर मेसिन र प्रिन्टर (एक/एक थान) उपलब्ध गराएको हो।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले संयुक्त रूपमा उपकरणहरू जिल्ला सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख विनोद पौडेल र उच्च अदालत (पाटन) हेटौंडा इजलासका रजिस्ट्रार बद्री लामिछानेलाई हस्तान्तरण गरे।
कार्यक्रमका अवसरमा अध्यक्ष मल्लले न्यायिक निकायको काम जनताको अधिकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने भएकाले स्थानीय तहको सहयोग अपरिहार्य रहेको बताए। उनले गाउँपालिकाले आगामी दिनमा पनि जनसेवामुखी कार्यमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता जनाए।
उपकरण हस्तान्तरणपछि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले राक्सिराङ्ग गाउँपालिकाप्रति आभार व्यक्त गर्दै सो सहयोगले कार्यालयको दैनिक कार्य सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरे।


