जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भई क्षति पुगेको जिल्ला अदालत मकवानपुर लयमा फर्किँदै छ ।
कात्तिक २ गतेदेखि जिल्ला अदालत मकवानपुरले मुद्दाको साप्ताहिक पेशी सूची अदालतको सूचना पाटीमा टाँस गर्ने र कात्तिक १३ गतेबाट मुद्दाको प्राथमिकताको आधारमा नियमित रुपमा मुद्दाको सुनुवाइ प्रारम्भ गर्ने भएको छ ।
जिल्ला बार एशोसियशनको राय सुझावसमेत ग्रहण गर्दै जिल्ला अदालतको बिहीबार बसेको पूर्ण बैठकले कात्तिक २ गतेबाट मुद्दाको साप्ताहिक पेशी सूची टाँस गर्ने र कात्तिक १३ गतेदेखि नियमित रुपमा मुद्दाको सुनुवाइ प्रारम्भ गर्ने निर्णय गरेको निमित्त स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।
‘अदालत अब क्रमशः लयमा फर्किँदै छ’ स्रेस्तेदार कौशिकले भने, ‘कात्तिक १३ गतेबाट अदालतका सेवा पूर्ववत अवस्थामा आइपुग्ने छ ।’ जेन–जीको आन्दोलनको क्रममा भदौ २४ गते अदालतमा आगजनी र तोडफोड गरिएको थियो ।
आगजनी र तोडफोड पश्चात जिल्ला अदालत मकवानपुरले भदौ २९ गतेदेखि नै आशिंक रुपमा सेवाहरु दिँदै आएको थियो । मुद्दाको नियमित पेशीबाहेक अन्य सेवाहरु अदालतले प्रदान गर्दै आएको थियो ।
आगजनीमा परेर अदालतका ६ वटा चालु मिसिल र ५ सय ३४ वटा अभिलेख मिसिल जलेर नष्ट भएको बताइएको छ । हाल यस अदालतमा १ हजार ७ सय मुद्दाहरु चालु अवस्थामा रहेका छन् ।








