स्थानीय युवाहरूको निरन्तर पहल र दबाबपछि मकवानपुरको थाहा नगरपालिका–४ नार्खुढाँडमा निर्माणाधीन ‘थाहा बसपार्क’ बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
शिखरकोट बजार क्षेत्रको मुख्य सडकमार्गमै सवारीसाधन सञ्चालन हुँदा बढ्दै गएको दुर्घटनाको जोखिम, पार्किङको अभाव र अव्यवस्थित यातायात व्यवस्थापनका कारण स्थानीय युवाहरूले लामो समयदेखि दवाब दिँदै आएका थिए। अन्ततः सोही दवाब र निरन्तर पहलका फलस्वरूप थाहा नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको हो।
एक औपचारिक समारोहका बीच नगरप्रमुख विष्णु बिष्टले बसपार्कबाट सेवा शुभारम्भ गर्दै सञ्चालनको सुरुवात गर्नुभयो। उहाँले बसपार्क सञ्चालन ‘थाहा नगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ अनुरूप गरिएको बताउँदै यसमा स्थानीय युवाहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्य ढिलो भए पनि अब आवश्यक भौतिक संरचना निर्माणका लागि संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यसैगरी उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको बताउँदै यसको व्यवस्थापनमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्नुभयो। उहाँले यातायात व्यवसायी, स्थानीय समुदाय र निजी क्षेत्रसँग सहकार्य गर्दै समाधानमुखी कदम चालिने आश्वासन दिनुभयो।
थाहा नगरपालिकाको कार्यपालिकाबाट स्वीकृत कार्यविधिअनुसार सञ्चालनमा आएको बसपार्कले नगरको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु गरेको छ। यसले सवारी पार्किङ, यात्रु सुविधा र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
थानाबजार नजिक करिब ४८ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्क करिब ३० लाख रुपैयाँको प्रारम्भिक लगानीमा सुरु गरिएको हो। यसलाई आगामी दिनमा बहु–संरचना समेटिएको आधुनिक बसपार्कका रूपमा विकास गरिने योजना रहेको थाहा नगरपालिकाले जनाएको छ।








