मकवानपुरको कैलाश गाउँपालिका–७ मा पहिलो पटक आमा सुरक्षाका लागि ‘पर्खिने घर (वेटिङ कक्ष)’ सञ्चालनमा ल्याइएको छ। शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त सुविधाको उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मुक्तानले गर्भवती महिलाको स्वास्थ्य–अधिकारलाई प्राथमिकता दिँदै वेटिङ कक्ष निर्माण गरिएको बताए। गाउँपालिकाका सबै वडा बाट स्वास्थ्य सेवा उपलब्ध भइरहे पनि सुत्केरी हुन लागेका महिलाले खाना–बस्नसहित सुरक्षित सेवा पाउन सकून् भन्ने उद्देश्यले पर्खिने घर निर्माण गरिएको उहाँको भनाइ थियो।
अध्यक्ष मुक्तानका अनुसार वर्थिङ सेन्टर सञ्चालन भएपछि घरमै सुत्केरी हुने संख्या घट्दै गएको छ। “अब सुत्केरी व्यथा लाग्नु अघि नै एक–दुई दिन पहिलेदेखि वेटिङ कक्षमा आएर बस्न आग्रह गर्छु,” उनले भने। चेपाङ समुदायको बाहुल्यता रहेको क्षेत्र भएकाले स्वास्थ्य चेतना क्रमशः बढ्दै गएको पनि उनले उल्लेख गरे। गाउँघर क्लिनिक, घरमै गर्भ परीक्षणलगायतका क्षेत्रमा गाउँपालिका सक्रिय रहेको तथा होम डेलिभरी शून्यमा झार्ने लक्ष्यसँगै काम भइरहेको उनले जानकारी दिए।
जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले भौगोलिक रूपमा विकट बस्तीहरूमा पर्खिने घर अत्यावश्यक हुने भएकाले यस्तो संरचना निर्माण हुँदै आएको बताए। प्रदेश सरकारको विशेष अनुदानमार्फत गत आवको कार्यक्रमभित्र यो एक कोठे पर्खिने घर निर्माण गरिएको उनले बताए। टाढाबाट आउने गर्भवतीलाई खाना–बस्न समस्या हुने भएकाले यो सुविधा महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
स्वास्थ्य चौकीमै सुत्केरी गराउँदा आमा र नवजात शिशुको अवस्था निरन्तर निगरानी गर्न सकिने भएकाले संस्थागत प्रसूति सेवाको उपयोग गर्न प्रमुख श्रेष्ठले आग्रह गरे।
वडा नं. ७ का अध्यक्ष उदासकुमार भोलनले पर्खिने घर सञ्चालनले स्वास्थ्य सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने बताए। “पहिले पनि हामी खाना खुवाउने र बस्ने व्यवस्था गर्दै आएका थियौँ, अब घर बनेकाले सेवा अझ व्यवस्थित हुन्छ,” उनले भने।
वडाध्यक्ष भोलनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकी प्रमुख मेनका ठाकुरलगायतको सहभागिता थियो। जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्मित घरमा बस्न र खानका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको छ।








