बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित ‘शिक्षा क्षेत्र योजना प्रबोधीकरण कार्यक्रम–२०८२’ हेटौंडामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रस्तुत शिक्षा क्षेत्र योजनाका उद्देश्य, रणनीति र कार्यान्वयनका मोडेल सरोकारवालामाझ विस्तृत रूपमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले योजनालाई व्यवहारिक, समावेशी र परिणाममुखी बनाउँदै विद्यालय, कक्षा र विद्यार्थीस्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा उपस्थिति रहेका सहभागीहरुले शिक्षा क्षेत्र योजनाको महत्व, कार्यान्वयनका चुनौती र आगामी सुधारका दिशामा आफ्नो अभिमत प्रस्तुत गरे। त्यस्तै शिक्षालाई समाज रूपान्तरणको ऊर्जा भन्दै, बनेका योजनाहरू कागजमा सीमित नबसी बालबालिकाको व्यवहारिक जीवनमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता जोड दिए। योजना कार्यान्वयनमा सरकार, विद्यालय, शिक्षक, अभिभावक, निजी क्षेत्र र समुदाय सबैको संयुक्त लगानी अपरिहार्य रहेको भनाइ थियो।
शिक्षा क्षेत्रमा गुणस्तर बढाउने, विद्यालयलाई सुरक्षित र बालमैत्री बनाउने, शिक्षकका क्षमता अभिवृद्धि तथा डिजिटल र जीवन–कौशल सिकाइलाई प्रवर्द्धन गर्ने काम प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे। कुनै पनि बालक शिक्षाको पहुँचबाट वञ्चित नपरोस् भन्ने सुनिश्चितता नै योजनाको केन्द्रीय लक्ष्य हुनुपर्ने बताएका थिए। योजना कार्यान्वयनको प्रभावशीलता समन्वय, पारदर्शिता, अनुगमन र निरन्तर सुधारमा निर्भर हुनेप्रति पनि सबैले ध्यानाकर्षण गराए।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव तथा कार्यक्रमका सभाध्यक्ष पूर्णबहादुर दर्जी, प्रदेशका शिक्षा विशेषज्ञ, स्थानीय तहका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय सहकार्य संस्थाका प्रतिनिधिहरूले समेत आ–आफ्ना दृष्टिकोण साझा गरे। छलफलमार्फत शिक्षा क्षेत्रमा देखिएका चुनौती, समाधानका संभावित उपाय तथा भविष्यका रणनीतिमाथि सहमति बनाइएको आयोजकले जानकारी दिएको छ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको यो कार्यक्रम शिक्षा अधिकार अनुगमन समूह बागमती प्रदेश, बाल कल्याण समाज मकवानपुर, इन्टरपेडिया फिनल्याण्ड, लू निभा नेपालको सह–समन्वयमा सम्पन्न भएको हो।







