ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको तलब शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका छन्। शुक्रबार प्रतिनिधिसभा सदस्यको रूपमा औपचारिक शपथ लिएसँगै उनले उक्त प्रतिबद्धता जनाएका हुन्।
सांसद थेबेले आफ्नो पहिलो तलब सिदिङवा गाउँपालिका–३ आङखोपस्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “ताप्लेजुङका जनताको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यको रूपमा आज औपचारिक शपथ लिएको छु। मेरो जीवनकै पहिलो एक महिनाको तलब विद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेको छु।”
उनले शिक्षामा गरिने सानो योगदानले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वास व्यक्त गरेका छन्। साथै, आफूलाई निर्वाचित गराएर संसदसम्म पुर्याउने ताप्लेजुङवासीप्रति उनले आभार प्रकट गरेका छन्।








