तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को समग्र उपाधि काठमाडौंले जितेको छ। मङ्गलबार सम्पन्न भएको खेलकुद प्रतियोगितामा काठमाडौंले ५१ स्वर्ण, ३८ रजत र ४२ कास्यसहित कुल १३१ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो।
ललितपुरले पनि १३१ पदक जिते तापनि स्वर्ण पदक कम भएकाले दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो। ललितपुरको खातामा ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक रहेका छन्। ३० स्वर्ण, २८ रजत र २७ कास्यसहित कुल ८५ पदक जितेको चितवन तेस्रो स्थानमा रह्यो।
प्रतियोगिताको समापनसँगै विजेता टोलीहरूलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो। काठमाडौंले १ लाख रुपैयाँ, ललितपुरले ७५ हजार रुपैयाँ र चितवनले ५० हजार रुपैयाँ प्राप्त गरे।
अन्तिम दिन सम्पन्न फुटबल प्रतियोगितामा पुरुषतर्फ चितवन र महिलातर्फ काठमाडौं च्याम्पियन बने। पिप्ले रंगशालामा भएको महिला फुटबलको फाइनलमा काठमाडौंले चितवनलाई १–० ले पराजित गर्दै उपाधि जित्यो। विजेता टोलीका खेलाडीले जनही ५ हजार रुपैयाँ तथा उपविजेता टोलीका खेलाडीले जनही ४ हजार रुपैयाँ प्राप्त गरे।
महिला फुटबलमा काठमाडौंकी मनिषा आले मगर उत्कृष्ट खेलाडी घोषित भइन्। उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। उत्कृष्ट गोलकिपर झरना नगरकोटी, उत्कृष्ट डिफेन्डर सजिता कोइराला र उत्कृष्ट प्रशिक्षक देवेन्द्रजंग शाही घोषित भए। चितवनकी सुसिला केसी उत्कृष्ट मिडफिल्डर तथा प्रतिक्षा ठकुरी उत्कृष्ट फरवार्ड बनिन्।
पुरुष फुटबलको फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि उचाल्यो। निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। पुरुषतर्फ मकवानपुरका अभिषेक भोलन उत्कृष्ट खेलाडी घोषित भए र उनले २० हजार रुपैयाँ पुरस्कार पाए। चितवनका मनोज गुरुङ उत्कृष्ट गोलकिपर, विकल तामाङ उत्कृष्ट डिफेन्डर, सलिल ढकाल उत्कृष्ट फरवार्ड तथा सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। मकवानपुरका सुजन गुरुङ उत्कृष्ट मिडफिल्डर बने।
प्रतियोगिताको पदक तालिकामा काभ्रेपलाञ्चोक चौथो, भक्तपुर पाँचौँ र मकवानपुर छैटौँ स्थानमा रहे। बागमती प्रदेशका १३ जिल्लाका २ हजार ७०७ खेलाडीले १५ खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा २१७ स्वर्ण, २१४ रजत र ३११ कास्य गरी कुल ७४४ पदकका लागि प्रतिस्पर्धा भएको थियो।
हेटौँडा, चितवन, काठमाडौं र ललितपुरका विभिन्न खेलस्थलमा सञ्चालन गरिएको प्रतियोगिताको समापन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।







