हेटौँडा उपमहानगरपालिका–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थी नेतृत्व चयनका लागि पहिलोपटक अनलाइन प्रणालीमार्फत निर्वाचन सम्पन्न गर्दै विद्यालयस्तरमै लोकतान्त्रिक अभ्यासलाई प्रविधिसँग जोडेको छ।

बुधबार सम्पन्न निर्वाचनमा विद्यालय कप्तान पदमा रिजन जिम्बा ३ सय ३५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने विद्यालय उपकप्तान पदमा अस्मिता थिङ २ सय ५४ मतसहित विजयी हुनुभएको विद्यालयले जनाएको छ।
यस वर्ष विद्यालयले परम्परागत मतदान प्रणालीलाई विस्थापित गर्दै पूर्ण रूपमा अनलाइन माध्यमबाट निर्वाचन सञ्चालन गरेको हो। विद्यालय परिसरमा ६ वटा मतदान केन्द्र स्थापना गरी ल्यापटपमार्फत विद्यार्थीलाई मतदान गराइएको थियो। 
विद्यालयका अनुसार कुल ६ सय ९७ मतदातामध्ये ६ सय ४७ जना विद्यार्थीले मतदान गरेका थिए। कक्षा ६ देखि १० सम्मका विद्यार्थी उम्मेदवार तथा मतदाता बन्न पाउने व्यवस्था गरिएको थियो। विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासको व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले निर्वाचन आयोजना गरिएको विद्यालयले जनाएको छ।
निर्वाचनमा विभिन्न १८ पदका लागि ७२ जनाको उम्मेदवारी परेको थियो। बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रम दिउँसो १ बजे सम्पन्न भएको थियो।
निर्वाचनबाट विद्यालयका चार सदन तथा चार क्लबका कप्तान र उपकप्तानसमेत चयन भएका छन्। सहायक प्रधानाध्यापक अमुल श्रेष्ठका अनुसार वातावरण क्लबको कप्तानमा आर्जन न्यौपाने र उपकप्तानमा आध्या कोइराला, फाइन आर्ट क्लबको कप्तानमा अन्जन यादव र उपकप्तानमा विदित न्यौपाने, साहित्य क्लबको कप्तानमा आश्रिका न्यौपाने र उपकप्तानमा प्रशंसा पौडेल निर्वाचित हुनुभएको छ।
त्यस्तै खेलकुद क्लबको कप्तानमा रौनक सापकोटा तथा उपकप्तानमा सुविन खड्का चयन हुनुभएको छ। रातो सदनको कप्तानमा सन्दर्भ दाहाल र उपकप्तानमा करण अग्रवाल, पहेँलो सदनको कप्तानमा आरोन बानियाँ र उपकप्तानमा वाङचु थिङ, निलो सदनको कप्तानमा अध्ययन चौलागाई र उपकप्तानमा आश्विक भट्टराई तथा हरियो सदनको कप्तानमा सुहान्स मुक्तान र उपकप्तानमा युनिशा थिङ निर्वाचित हुनुभएको विद्यालयले जनाएको छ।
निर्वाचन प्रक्रियामा विद्यालयका शिक्षक तथा कर्मचारीले निर्वाचन आयोगको भूमिका निर्वाह गरेका थिए। विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले विद्यालयस्तरमै गरिएको डिजिटल निर्वाचनले विद्यार्थीमा लोकतान्त्रिक संस्कार विकास गर्नुका साथै नेतृत्व क्षमता, जिम्मेवारीबोध र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पारेको बताउनुभयो।
उहाँका अनुसार अनलाइन निर्वाचनले विद्यार्थीलाई आधुनिक प्रविधिको प्रयोगसँगै निर्वाचन प्रणालीबारे व्यावहारिक अनुभवसमेत दिलाएको छ। विद्यालयले यस अभ्यासलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।







