मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामीमगरले चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड ८५ लाख रुपैयाँ बढीको आय–व्यय अनुमान प्रस्तुत गरेकी हुन्।
चालु आर्थिक वर्षमा ९७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको गाउँपालिकाले आगामी वर्षका लागि पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ। यस क्षेत्रका लागि ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५.४२ प्रतिशत विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार रुपैयाँ (२८.५९ प्रतिशत), कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वका लागि १४ करोड ६६ लाख ७० हजार रुपैयाँ (१४.८८ प्रतिशत) तथा वित्तीय व्यवस्था, सुशासन र संस्थागत विकासका लागि १३ करोड ८५ लाख २ हजार रुपैयाँ (१४.०५ प्रतिशत) बजेट छुट्याइएको छ। आर्थिक विकासका लागि ५ करोड ३१ लाख १७ हजार रुपैयाँ तथा वन, वातावरण र विपद् व्यवस्थापन क्षेत्रमा १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले कुल बजेटमध्ये ३६ करोड २५ लाख रुपैयाँ (३६.७८ प्रतिशत) पुँजीगत तथा ६२ करोड ३१ लाख रुपैयाँ (६३.२२ प्रतिशत) चालु खर्चतर्फ विनियोजन गरेको जनाएको छ।
आन्तरिक आम्दानीतर्फ नदीजन्य पदार्थ (दहत्तर–बहत्तर) बिक्रीलाई प्रमुख स्रोतका रूपमा लिइएको छ। यसबाट मात्रै आगामी वर्ष २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। संघीय सरकारबाट विभिन्न शीर्षकमा ३६ करोड ८१ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट ६ करोड २६ लाख ४१ हजार रुपैयाँ अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। साथै आन्तरिक स्रोत र बैंक मौज्दातबाट ४ करोड १५ लाख ७० हजार रुपैयाँ व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
क्षेत्रगत रूपमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी २१ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बालविकास शिक्षक, विद्यालय कर्मचारी व्यवस्थापन, विद्यालय बस खरिद तथा युवा–खेलकुद कार्यक्रम यसअन्तर्गत समेटिएका छन्।
स्वास्थ्य क्षेत्रका लागि ४ करोड ८२ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ। क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलाइसिस तथा मेरुदण्ड पक्षघात भएका विपन्न बिरामीलाई मासिक उपचार सहयोग, स्वास्थ्य बीमा कार्यक्रम र शववाहन खरिदलाई प्राथमिकतामा राखिएको छ।
कृषि क्षेत्रका लागि १ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि औजार वितरण, उत्पादनमा आधारित अनुदान, शीतभण्डार भाडा अनुदान, बाली बीमा तथा भूमिहीन किसानलाई जग्गा भाडा अनुदान उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ। पशुपन्छी विकासतर्फ २ करोड ३५ लाख रुपैयाँ बजेट छुट्याउँदै दूधमा प्रतिलिटर प्रोत्साहन अनुदान, महामारीजन्य रोग नियन्त्रण तथा पशुपालन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ।
पूर्वाधार विकास अन्तर्गत मनहरी–८ र ९ जोड्ने सडक, लोथर–पाङ्थली सडक स्तरोन्नति, वडा कार्यालय भवन निर्माण तथा गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ। यस क्षेत्रमा संघीय, प्रदेश र स्थानीय स्रोतसमेत गरी ३४ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
रोजगार प्रवर्द्धनका लागि ४७ लाख १७ हजार रुपैयाँ, महिला विकासका लागि १७ लाख ५० हजार रुपैयाँ, बालबालिका क्षेत्रका लागि २७ लाख ५६ हजार रुपैयाँ तथा सामाजिक समावेशीकरणका कार्यक्रमका लागि १ करोड १६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दमकल खरिद, विपद् कोष सञ्चालन, डढेलो नियन्त्रण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। यसका लागि १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष पुलामीमगरले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई केन्द्रमा राखेर समृद्ध मनहरी निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरिन्। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा बसेको गाउँसभाले बजेटमाथि थप छलफल तथा पारित गर्न असार १३ गते अर्को बैठक आह्वान गरेको छ।







