बागमती प्रदेशको राजधानी हेटौंडामा सूचना प्रविधिको विकासलाई टेवा पुर्याउने उद्देश्यका साथ भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–४ मा आईटी पार्क (पब्लिक नलेज सेन्टर) निर्माण हुने भएको छ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आईटी पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा निर्माण कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ। स्थानीय तहको पहल तथा समन्वयमा भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाको पहलपछि आईटी पार्क निर्माण प्रक्रिया अघि बढेको भुटनदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष नवीन सिग्देल बताए।
सिग्देलले निर्माण सम्पन्न भएपछि आईटी पार्कले सूचना तथा सञ्चार प्रविधिका नयाँ प्रविधि भित्र्याउने, अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई बढावा दिने तथा रोजगारी सिर्जना गर्ने बताए।
साथै विद्यालय शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन तथा सर्वसाधारणलाई सूचना प्रविधिमा सहज पहुँच उपलब्ध गराउन पनि यो पार्कले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस परियोजनाले सूचना प्रविधिको क्षेत्रमा खोज, अनुसन्धान, प्रयोग, सीप विकास र उद्यमशीलतालाई समेत प्राथमिकता दिने अपेक्षा गरिएको छ। यससँगै हेटौंडालाई बागमती प्रदेशकै सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
यसअघि पनि भुटनदेवी माध्यमिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि हेटौंडा उपमहानगरपालिका र विद्यालयको लागत साझेदारीमा करिब ३ करोड रुपैयाँ लागतमा १२ कोठे, तीनतले शैक्षिक भवन निर्माणको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ।
आईटी पार्क र नयाँ शैक्षिक पूर्वाधार निर्माणसँगै भुटनदेवी माध्यमिक विद्यालयलाई आधुनिक प्रविधिमैत्री शिक्षाको नमुना विद्यालयका रूपमा विकास हुने भएकाले यो हेटौडाबासीका लागि अत्यन्तै खुसीको खबर रहेको सिग्देलले बताए ।







