स्थानीयको अवरोधपछि रोकिएको शुक्रबार साँझदेखि रोकिएको वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचनामा डोजर चलाउने अभियान आइतबार पनि सुचारु हुन सकेन ।
विवाद समाधानका लागि शनिबार गर्ने भनिएको सरोकारवाला निकायको बैठक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल बाहिर रहेकाले हुन सकेको छैन ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले बैठकका लागि कार्यालयका डिई किरण कार्की समेत शनिबार आएकोमा प्रजिअ दाहालको अनुपस्थितिका कारण सम्पन्न हुन नसकेको बताए ।अब सोमबार कार्यालय खुलेको दिन बैठक गर्ने तयारी गरिएको उनले बताए । विवाद समाधान नगरी काम गर्दा पटक पटक समस्या आउने र डोजर अपरेटहरु पनि असुरक्षित महशुस गर्ने भएकाले थप एक दिन बैठकका लागि प्रतिक्षा गरिएको उनले बताए ।
इन्जिनियर प्रसादले डोजर, तिनका चालक र आफू पनि वीरगन्जमा तयारी अवस्थामा बसेको बताए । डोजर अब कुनै पनि हालतमा नफर्कने पनि उनले दाबी गरे । कुनै पनि बेला काममा जानुपर्ने भएकाले आफूहरु तयारी अवस्थामा बसेको उनले बताए ।
सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार दिउँसो करिब १ बजेदेखि त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान सुरु गरेको थियो। कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि सोही दिनको साँझ करिब ५ बजे बहुअरी क्षेत्रका स्थानीयले डोजर सञ्चालनमा अवरोध गरेपछि अभियान रोकिएको हो।







