हेटौंडा/कृषि क्षेत्रको विकासलाई प्रागथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ।
पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ। आइतबार आयोजित कार्यक्रममा बकैया गाउँपालिकाले वडा नम्बर १०, ११ र १२ का किसानलाई १३३ वटा मौरीको घार वितरण गरेको हो।
पालिकाले यसअघि वडा नम्बर ११ र १२ का किसानलाई लक्षित गरी मौरीपालन तालिम दिएर घार वितरण गरेको हो। सेरेना जातको मौरीपालनका लागि ६ लाख ६५ हजारको मौरी घार वितरण गरिएको छ।
मौरी घार वितरण कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बकैयाले कृषि क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्दै रोजगारी नै देश विकासको आधार भएको बताए। कृषिलाई उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ।
यस्तै, कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको बताउँदै किसानको आयआर्जन बढाउन पालिकाले मौरी घार उपलब्ध गराएको जानकारी दिए।
बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले मौरीपालनबाट किसानलाई राम्रो आम्दानी लिन सक्ने वातावरण तयार पार्ने तयारी गरेको छ। यसले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रूपमा विकास गर्न सघाउने विश्वास गाउँपालिकाले लिएको बताएका छन्।
कार्यक्रमका बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमला कुमारी वाईबा, वडा नं. ११ का वडाध्यक्ष गोपाल न्यासुर लामा, वडा नं.१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाई, गाउँपालिकाका कृषि अधिकृत सचित रिजाल र स्थानीय किसान लगायतको उपस्थिति रहेको थियो।







