बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापाले बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन्। थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुधबार दाबी पेस गरेका हुन्।

थापालाई नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्ने भएकाले थापाको दाबी बहुमत पुग्ने अवस्थामा छ।
यसैबीच, प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्रीको नियुक्ति तथा शपथ ग्रहण बिहीबार अपराह्न ४ बजेपछि मात्रै हुने जनाएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय बिहीबार अपराह्न ४ बजेसम्म कायम रहेकाले त्यसअघि नियुक्ति तथा शपथ गराउन नमिल्ने कार्यालयको भनाइ छ।
प्रदेश प्रमुखको आह्वानअनुसार दाबी पेस गर्ने समय सकिएपछि थापालाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तयारी छ। त्यससँगै नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया पनि अघि बढ्नेछ।
कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएसँगै बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयनलाई लिएर देखिएको विवाद समाधान भएपछि थापालाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको हो। एमाले संसदीय दलले जगन्नाथ थपलियालाई दलको नेतामा कायम राख्दै थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो।








