हेटौंडा/फिन्सर्भ ग्लोबलको आयोजनामा तथा प्याब्सन हेटौंडाको सहकार्यमा हेटौंडा मोडल युनाइटेड नेसन्स (Hetauda Model United Nations) शुक्रबारदेखि हेटौंडास्थित पल्पसा पार्टी प्यालेसमा सुरु भएको छ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विभिन्न ११ विद्यालयका १४० भन्दा बढी विद्यार्थी सहभागी छन्। कार्यक्रममा बालजागृति इङ्ग्लिस सेकेन्डरी स्कुल, नवोदय शिशु सदन, मकवानपुर बालविद्या सदन, सनगाभा शिक्षा निकेतन, सनसाइन इङ्ग्लिस स्कुल, तुल्सी मेहर मेमोरियल इङ्ग्लिस स्कुल, सिद्धार्थ शिशु सदन, ज्ञानोदय बालबाटिका, सनराइज इङ्ग्लिस स्कुल, फनकोल एकेडेमी र सोलिडारिटी इङ्ग्लिस सेकेन्डरी स्कुलका विद्यार्थीको सहभागिता रहेको छ।

कार्यक्रम सातवटा विभिन्न हलमा सञ्चालन भइरहेको छ। कार्यक्रममा कृतिका ढुङ्गाना सचिव–जनरल तथा रोशिक श्रेष्ठ कन्फरेन्स मेन्टरको भूमिकामा रहेका छन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका विभिन्न समितिको अभ्यास गर्दै समसामयिक विश्वव्यापी विषयमा छलफल, बहस तथा कूटनीतिक वार्ता गरिरहेका छन्। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (UNSC), शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (UNHCR), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), विश्व स्वास्थ्य संगठन (WHO), संयुक्त राष्ट्र बाल कोष (UNICEF), मानव अधिकार परिषद् (HRC) र युनेस्को (UNESCO) गरी सातवटा समितिमा विद्यार्थीहरू सहभागी छन्।

आयोजकका अनुसार मोडल युनाइटेड नेसन्समार्फत विद्यार्थीहरूलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्व शान्ति, मानव सुरक्षा तथा आलोचनात्मक चिन्तनजस्ता विषयमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको छ। साथै, नेतृत्व क्षमता, सञ्चार सीप, समस्या समाधान तथा सहकार्यजस्ता २१औँ शताब्दीका आवश्यक सीप विकासमा समेत कार्यक्रमले योगदान पुर्याउने आयोजकको भनाइ छ।
“Building a Resilient Future, Advancing Global Peace, Human Security, Sustainable Development and Youth Empowerment through Multilateral Cooperation” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनले विश्व शान्ति, मानव सुरक्षा, दिगो विकास र युवा सशक्तीकरणका विषयमा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। उक्त कार्यक्रमको समापन भने आइतबार हुने आयोजकले जानकारी दिएको छ।








