लामो समयदेखि जारी अन्योलता अन्त्य गर्दै नेकपा एमालेले बागमती प्रदेश संसदीय दलको बैठक आह्वान गरेको छ। एमाले संसदीय सचिवालयका अनुसार बैठक भदौ २ गते मंगलबार बिहान ११ बजे बस्नेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता जेएन थपलियालाई हटाउन निर्देशन दिएपछि बागमतीमा संसदीय दलको नेतृत्व परिवर्तनको विषय जटिल बन्दै आएको थियो। स्रोतका अनुसार आगामी बैठकबाट थपलियालाई हटाएर नयाँ दलको नेता चयन गर्ने तयारी छ।
केन्द्रीय नेतृत्वको निर्देशनअनुसार पूर्वस्वास्थ्य मन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी रहेको स्रोतले जनाएको छ। थपलियाविरुद्ध एमालेका १८ जना प्रदेशसभा सदस्यले संसदीय सचिवालयमा अविश्वासको प्रस्तावसमेत दर्ता गराएका थिए। बैठकबाट उक्त विषय टुंग्याउने तयारी छ।
एमाले र नेकपाले संयुक्त रूपमा बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारीसमेत अघि बढाएका छन्। संसदीय दलको नेता चयन भएपछि मुख्यमन्त्रीमा दाबी गर्ने प्रक्रिया अगाडि बढाउने एमालेको तयारी रहेको बताइएको छ।
यसैबीच अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेका छन्। स्रोतका अनुसार भदौ १ गते सोमबार दिउँसो १ बजे प्रदेशसभामा सम्बोधन गरेपछि विश्वासको मत विभाजनमा नजाँदै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी छ।
एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
बानियाँले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।








