हेटौंडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई सफल बनाउन ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियानलाई पहिलो प्राथमिकतामा राख्दै नगरव्यापी सरसफाइ अभियान सुरु गर्ने भएको छ। ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा’ नारालाई व्यवहारमा उतार्ने लक्ष्यसहित सञ्चालन गरिने अभियानका लागि ३२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले १९ औँ नगरसभाबाट पारित पर्यटन प्रवर्द्धन योजनाअनुसार टोल विकास संस्था नगर समन्वय समितिसँगको सहकार्यमा अभियान अघि बढाइएको जानकारी दिएको हो।
उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले अभियानलाई औपचारिक कार्यक्रममा सीमित नराखी सरकारी तथा संस्थागत विद्यालय, मन्त्रालय, संघीय कार्यालय, सार्वजनिक स्थल र समुदायसम्म विस्तार गरिने बताउनुभयो। उहाँका अनुसार अब घर, विद्यालय र कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्था अनिवार्य रूपमा लागू गरिनेछ।
अभियानअन्तर्गत नगरभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामाथि कडाइका साथ प्रतिबन्ध लगाइनेछ। व्यवसायीले पसलअगाडि अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने व्यवस्था लागू गरिनेछ भने सार्वजनिक यातायातमा समेत डस्टबिन राख्ने नीति अवलम्बन गरिने भएको छ। उत्कृष्ट सरसफाइ गर्ने टोल र वडालाई सम्मान गर्ने तथा विद्यालयस्तरमा ‘मेरो फोहोर, मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरेर सरसफाइ संस्कृतिको विकास गरिने योजना पनि सार्वजनिक गरिएको छ।
नगर प्रमुख मीनाकुमारी लामाले सरसफाइलाई एकदिने कार्यक्रम नभई नागरिकको दैनिक जीवनसँग जोडिएको संस्कारका रूपमा स्थापित गर्न वर्षभरि ‘शून्य फोहोर’ महाअभियान सञ्चालन गरिने बताउनुभयो। उहाँले हेटौंडाको ढल व्यवस्थापन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो।
प्रयोग भइसकेको पानी प्रशोधन प्रणालीको योजना पनि तयार रहेको उल्लेख गर्दै उहाँले वडा नम्बर १५ तथा वडा नम्बर ६ र ७ को सीमाक्षेत्रमा निर्माण हुने ल्यान्डफिल्ड साइटको डीपीआर सम्पन्न भइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कनपछि निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयो। फोहोर व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्न उपमहानगर सकारात्मक रहेको तर कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
पत्रकार सम्मेलनमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद ओली, वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीलगायतको उपस्थिति रहेको थियो।








