हेटौंडामा चलिरहेको जिल्ला लिग फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लब १६ अंकसहित समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। २८ क्लब सहभागी यस प्रतियोगितामा गोर्खा ब्वाइजले सबैभन्दा बढी अंक हासिल गरेको छ।
लिग चरणको अन्तिम खेलमा गोर्खा ब्वाइजले महाबीर क्लवलाई बिहीबार ११–० ले हरायो । गोर्खा ब्वाइजको लागि मनोज घलानले ८, सुरज लामा २ र प्रताप थोकरले एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका मनोज घलान घोषित भए ।
यो समूहमा दोस्रो स्थानमा रहेको साविक विजेता न्यू डाँफे क्लवको १४ अंक रहेको छ । बिहीबारै भएको अर्को खेलमा हटिया स्पोर्टस् एकेडेमी र ७ नम्बर फुटबल टिमले एक÷एक गोलको बराबरी खेलेको छ । हटियाबाट विवेक माझी र ७ नम्बरको तर्फबाट सुरेश राईले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ७ नम्बर फुटबल टिमका कुशल अधिकारी घोषित भए । योसँगै साविक उपविजेता हटियाले ५ र ७ नम्बर फुटबल टिमले २ अंकसहित लिगको अन्त्य गरेको छ ।
बिहीबारको अर्को खेलमा एफसी नामटार र सानोपोखरा क्लवले २÷२ को बराबरी खेलेको छ । नामटारबाट साजन जिम्बा र सुदिप तामाङले गोल गर्दा सानोपोखराका सुमन राई र कमल मोक्तानले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच सानोपोखराका कमल मोक्तान घोषित भए । नामटारको ९ अंक र सानोपोखराको २ अंक भएको छ । यही समूह अन्तर्गत भएको अर्को खेलमा पदमपोखरी क्लवले न्यू कम्बाइन क्लवलाई १–० ले हरायो । पदमपोखरीका लागि दिवश गोलेले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच पदमपोखरीका गोलरक्षक रोजक थिङ घोषित भए ।
यो जितसँगै पदमपोखरीको ११ अंक भएको छ । १३ अंकसहित कम्बाइन क्लव समूह सी को शीर्षस्थानमा रहँदा एफसी मल्टिभिजनको १२ अंकसहित दोस्रो स्थान रहेको छ । जारी प्रतियोगितामा शुक्रबार पनि ४ खेल रहेको छ । प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।