हेटौंडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान सुरु गर्दै देशकै पहिलो उपमहानगरपालिकाको रूपमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।

आज वडा नम्बर १० मा आयोजित एक औपचारिक कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले ६० जना अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई परिचयपत्र वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले लामो समयदेखिको प्रयास सफल भएको बताउँदै आगामी दिनमा थप श्रमिकलाई कोषमा आबद्ध गराउँदै लैजाने जानकारी दिनुभयो।
श्रम तथा रोजगार मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रममार्फत उपमहानगरपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडिएको हो। 
हाल कोषमा आबद्ध भएका श्रमिकहरू घरेलु काम, कृषि तथा निर्माण क्षेत्रमा कार्यरत रहेका छन्। उनीहरूलाई उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हो।
कोषमा आबद्ध हुन उपमहानगरपालिकाले प्रतिश्रमिक रु १ हजार १४० र योगदानकर्ताले प्रतिमहिना रु १ हजार ३४० जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस अभियानसँगै हेटौंडा उपमहानगरपालिका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो उपमहानगरपालिका बनेको छ।







