बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको करिब ६७ अर्ब रुपैयाँको बजेटमा प्रदेश राजधानी हेटौंडालाई केन्द्रमा राखेर विभिन्न पूर्वाधार तथा प्रशासनिक योजनालाई प्राथमिकता दिएको छ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार प्रदेशको चालु खर्च ११ प्रतिशतले घटाउने घोषणा गर्दै प्रशासनिक संरचनालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। त्यसैअनुसार प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, प्रदेश राजधानी हेटौंडालाई ‘ग्रेटर हेटौंडा’ अवधारणाअनुरूप स्मार्ट र व्यवस्थित सहरका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरिएको छ। प्रदेश सरकारले राजधानीसँग जोडिएका सडक, हरित पूर्वाधार तथा आधुनिक सहरी संरचनाको विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।
सडक तथा पुलको नियमित मर्मतसम्भारलाई प्रभावकारी बनाउन ‘पहिले मर्मत, त्यसपछि निर्माण’ नीति अवलम्बन गरिएको छ। यसका लागि ४४ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।
युवा लक्षित कार्यक्रमअन्तर्गत हेटौंडालाई केन्द्र बनाएर सञ्चालन हुने नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रमका लागि पनि बजेट छुट्याइएको छ। युवा स्वरोजगार, स्टार्टअप, Agritech, Edutech, Healthtech, स्मार्ट शिक्षा तथा आईटी सीप विकास सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, वित्तीय पहुँचबाट बाहिर रहेका युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न प्रदेश सरकारले सहुलियत कार्यक्रममार्फत कृषि, घरेलु उद्योग, आईटी तथा सेवा क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्ने जनाएको छ।
प्रदेश सरकारको बजेटले राजधानी हेटौंडामा प्रशासनिक पूर्वाधार विस्तार, सहरी विकास र युवा उद्यमशीलता प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको देखिएको छ। स्थानीय तह तथा सरोकारवालाले बजेट कार्यान्वयन प्रभावकारी भए हेटौंडाको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पर्ने छन्। हेर्नुहोस् बागमती प्रदेशको पुरा बजेट किताब कहाँ कहाँ के के योजनाहरू छन्







