हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेस र समाजवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन्।
बुधबार विहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा कांग्रेसका नौ जना वडा अध्यक्ष, उपमेयर राजेशकुमार बानियाँ तथा समाजवादीबाट निर्वाचित एक जना वडा अध्यक्ष अनुपस्थित रहेपछि बैठक सुरु नै नभई स्थगित गरिएको हो।
अघिल्लो कार्यपालिका बैठकमा मेयर मीनाकुमारी लामाले कांग्रेस निकट वडा अध्यक्षहरूलाई धारणा राख्ने समय नदिएको कारण सोही विषय प्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्।
‘आफ्नो धारणा राख्नै नपाउने भएपछि किन बैठकमा सहभागिता जनाउने ?’ एक कांग्रेस वडा अध्यक्षले भने।
उता एमालेबाट निर्वाचित केही वडा अध्यक्षहरू बैठकमा उपस्थित भए पनि बैठक नबसेपछि फर्किएका थिए। हेटौंडा उपमहानगरको कार्यपालिका २९ सदस्यीय रहेको छ।
उपमहानगरका प्रवक्ता तथा वडा–१ का अध्यक्ष सविन न्यौपानेका अनुसार अघिल्लो बैठकमा ऐजेण्डामाथि छलफलको क्रममा कांग्रेसका प्रतिनिधिहरूले फ्लोर माग्दा पनि समय नपाउँदा हालको अवस्था उत्पन्न भएको हो।
‘हामीले धारणा राख्न समय मागेका थियौं, तर दिइएन। त्यसैले यस बैठकमा उपस्थित नभएकै हो,’ उनले बताए।
यसबीच, मेयर लामाले बिहीबार विहान ८ बजे कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा उपमेयरसँग समस्याबारे छलफल गरी सहमति जुटाउने प्रयास भइरहेको सचिवालय स्रोतले जनाएको छ।
‘छलफलपछि कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ,’ स्रोतले जानकारी दिएको छ ।







