हेटौंडा/नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले पार्टीको ११औं केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि बन्ने उद्देश्यले उम्मेदवारी दर्ता गराएका छन् ।
सवारी दुर्घटनापछि विगत सात महिनादेखि उपचाररत् पोख्रेलले बुधवार पार्टी कार्यालय मकवानपुरमा वारेसनामामार्फत मनोनयन दर्ता गराएका हुन् । काठमाडौंमा उपचाररत् उनले टेलिफोनमार्फत भनिरहेका थिए, “आगामी ११औं महाधिवेशनमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीसहित प्रतिनिधिमा उम्मेदवारी दिएको छु।”
स्वास्थ्य क्रमशः सुधारोन्मुख रहेको बताउँदै पोख्रेलले चाँडै नै पार्टी गतिविधिमा फर्किने विश्वास व्यक्त गरे । उनको केही दिनमै शल्यक्रिया हुने तयारी छ । यसअघि परिवारका एक सदस्यको शल्यक्रिया भएकाले आफू अस्पतालमै बस्नुपरेको उनले जानकारी दिए ।
मकवानपुर क्षेत्र नं. १ र २ मिलाएर १६ जना प्रतिनिधि चयनका लागि ८० जनाले उम्मेदवारी दर्ता गराएका छन् । पोख्रेलले क्षेत्र नं. १ बाट मनोनयन दिएका हुन् । प्रतिनिधि चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइए पनि सहमति नजुटे १३ मंसिरमा मतदान प्रक्रियामार्फत प्रतिनिधि टुंग्याइने एमालेले जनाएको छ ।




