हेटौँडा/पशु सेवा कार्यालय मकवानपुरले वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गर्दै त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। बुधबार आयोजित गोष्ठीमार्फत कार्यालयले चालु आर्थिक वर्षका योजना तथा प्राथमिकताहरू औपचारिक रूपमा सार्वजनिक गरेको हो।
कार्यक्रममा कार्यालय प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानले चालुतर्फ ४ करोड ९६ लाख रुपैयाँ र पुँजीगततर्फ २३ लाख ४० हजार रुपैयाँ बराबरको कार्यक्रम कार्यान्वयनमा ल्याइने जानकारी दिए। जेन–जी आन्दोलनपछि बजेट कटौती भएकाले वार्षिक कार्यक्रम सार्वजनिक गर्न ढिलाई भएको उल्लेख गर्दै डा. प्रधानले अब तोकिएका सबै कार्यक्रम तीव्रताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार यो वर्ष खोरेत रोग क्षेत्र कार्यक्रमअन्तर्गत खोप कार्ड छपाइ, समन्वय बैठक र आवश्यक व्यवस्थापन गरिनेछ। साथै ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ सञ्चालन गरिने बताउँदै सोका लागि ५६ लाख रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ।
त्यसबाहेक पशुपंक्षी रोग सर्भिलेन्स तथा नमुना संकलन–परीक्षण, संक्रामक रोगविरुद्धको खोप कार्यक्रम, मत्स्यपालन क्षेत्र विकास र पशुपंक्षी तथा मत्सजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रम पनि यो वर्ष प्राथमिकतामा परेका छन्।
गोष्ठीमा कार्यालयका डा. मदन भण्डारीले त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाई, कैलाश–३ का वडाध्यक्ष देवलाल बल, पशुपंक्षी निर्देशनालयका वरिष्ठ पुश अधिकृत डा. सन्तोष घिमिरे, डा. कमल अधिकारीलगायतका वक्ताहरूले कार्यक्रमबारे आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका पशु शाखा प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




