हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्ररेखादेखि २५–२५ गजभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना हटाउन सडक डिभिजन हेटौँडाले दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म गरी २५/२५ गज चौडाइ (७५/७५ फिट) अनुसार सडक विस्तारको तयारी सरकारले थालेको हो।
डिभिजनले सर्वोच्च अदालतको आदेशलाई आधार बनाउँदै मंसिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो। तर तोकिएको अवधिभित्र पनि सडक सीमाभित्रका संरचना हटाइएका छैनन्। मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै घरधनी र व्यवसायीहरू निरन्तर आन्दोलनमा रहेका छन्। सडक विस्तार प्रभावित क्षेत्रका व्यवसायी मुख्यरूपमा विरोधमा उत्रिएका छन्।
सडक डिभिजनका अनुसार वर्षौँदेखि थातथलो बनेको सडक विस्तार प्रक्रिया पटक–पटक रोकिँदै आएको छ र यसपटक भने कार्यान्वयनबाट पछि हट्न नसकिने स्थिति छ।
२० मंसिर(भोलि)देखि डोजर चलाउन तयारी
डिभिजनले भोलि मंसिर २० देखि अतिक्रमित घर तथा संरचना हटाउने अभियान सुरु गर्ने जनाएको छ। २० देखि २५ दिनभित्र सम्पूर्ण अवरोध हटाइसक्ने लक्ष्य कार्यालयले राखेको छ।
यसअघि असार २०७६ मा वडा १ मा सरकारी निकायले कब्जा गरेको सडक क्षेत्र खाली गराएपछि सडक डिभिजनले पुनः मैदानमा नओरिएको स्मरण गरिन्छ। त्यतिबेला राप्ती रोड क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो।
घरधनीहरू सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेपछि दुई वर्षअघि जारी गरिएको सूचना अमलमा आउन सकेको थिएन। सोही मुद्दाको फैसला आएपछि हालको विस्तार प्रक्रिया अघि बढाइएको डिभिजनको भनाइ छ।
‘अब सडक विस्तार रोकिन्न’ : डिभिजन प्रमुख
सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले २० मंसिरबाट संरचना भत्काउने कार्य औपचारिक रूपमा सुरु हुने बताए।
‘सधैं विस्तार रोकेर बस्न सकिँदैन, अब काम सुरु हुन्छ,’ अधिकारीले भने।
डिभिजनसँग २० वटा हेभी उपकरण उपलब्ध रहेको र आवश्यकता परे काठमाडौं तथा जनकपुरबाट थप उपकरण मागिने जानकारी उनले दिए। ‘उपकरणको कुनै कमी छैन। आवश्यकता अनुसार भाडामा पनि लिन सक्छौं,’ उनले बताए।
अधिकारीका अनुसार २–३ ठाउँबाट एकैसाथ संरचना भत्काउने कार्य सुरु गरिनेछ।
९.५ किलोमिटर क्षेत्रमा ५३१ संरचना हटाइने
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६.३ किलोमिटर र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ३.२ किलोमिटर गरी कुल ९.५ किलोमिटर सडक विस्तार गर्नुपर्ने छ। कार्यको सुव्यवस्थित सञ्चालनका लागि भोलिदेखि सवारी आवागमन रोक्ने तयारी गरिएको छ।
डिभिजनका अनुसार सडकको केन्द्ररेखादेखि २५/२५ गजभित्र परेका ५३१ घर, टहरा तथा अन्य संरचना हटाउनुपर्ने छ। जसमा दायाँतर्फ २३४ र बायाँतर्फ २९७ संरचना पहिचान गरिएको छ।







