बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले नेपाल अहिले अहिलेसम्मकै ठूलो जनसांख्यिक लाभको अवस्थाबाट गुज्रिरहेको बताउँदै यो अवसर गुमाउनु नहुने बताएका छन्।
सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित नगर अस्पताल निरीक्षण गर्दै उनले देश जनसांख्यिक लाभ लिन सक्ने निर्णायक मोडमा पुगेको उल्लेख गरे। उनका अनुसार करिब ४३–४४ प्रतिशतभन्दा बढी जनसंख्या युवा वर्गमा रहेकाले मुलुक निर्माणमा ठूलो सम्भावना छ।
उनले भने, “यो जनशक्ति रोगी भयो भने, अस्वस्थ भयो भने वा कुलतमा फस्यो भने मुलुकले ठूलो अवसर गुमाउँछ।”
मुख्यमन्त्री बानियाँले प्रत्येक महिलाले अस्पतालमै सुरक्षित रूपमा सुत्केरी हुन पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए। अकालमै सुत्केरी मृत्यु वा नवजात शिशुको ज्यान जाने अवस्था आउन नदिन आफ्नो सरकार विशेष रूपमा केन्द्रित रहेको बताउँदै उनले स्वास्थ्यकर्मीहरूलाई यसतर्फ संवेदनशील बन्न आग्रह गरे।
त्यसैगरी, रोग लागेकोपछि मात्र उपचारमा निर्भर न भएर नागरिकलाई निरोगी राख्ने उद्देश्यले शारीरिक व्यायाम, खेलकुद र स्वस्थ जीवनशैलीमा पालिकाले विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि उनले औंल्याए।







