यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको नारा ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ, भोलीको इमान्दार समाज निर्माण गरौँ’ रहेको छ। यही अवसरमा मंगलबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयको समन्वयमा गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव बाबुराम गौतम र अख्तियार कार्यालय हेटौंडाका प्रमुख रामकृष्ण पुडासैनीले कार्यपत्र प्रस्तुत गरे। तीन तहमा देखिएका भ्रष्टाचारका रूप, सचेत हुनुपर्ने चुनौती र चालु आर्थिक वर्षमा परेका उजुरीलगायतका विषय कार्यपत्रमा समेटिएका थिए। 
सचिव गौतमले सूचना प्रविधिको तीव्र विकाससँगै भ्रष्टाचारका स्वरूप बदलिँदै गएको उल्लेख गर्दै यसले समाजका सबै क्षेत्रमा असर पारिरहेको बताए। संघ, प्रदेश र स्थानीय तहबीच सामूहिक प्रतिबद्धता आवश्यक रहेको भन्दै उनले पारदर्शिता, नैतिकता र जवाफदेहिता प्रत्येक सरकारी कदमको आधार हुनुपर्नेमा जोड दिए। बागमती प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको उनले स्पष्ट गरे।
त्यसैगरी अख्तियारका प्रमुख पुडासैनीले सुशासन प्रवर्द्धनका लागि सार्वजनिक सेवा प्रवाहलाई चुस्त र सहज बनाउनुपर्ने बताए। शासकीय संरचना र कानुनमा समयानुकूल सुधार, योजना तर्जुमा तथा बजेट विनियोजनमा पारदर्शिता, र प्रभावकारी आयोजना व्यवस्थापन अनिवार्य रहेको उनले औंल्याए। सार्वजनिक खरिद प्रणाली सुधार र सूचना प्रविधि प्रणालीको छनोट तथ्यपरक विश्लेषनका आधारमा हुनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले भ्रष्टाचार पूर्ण रूपमा अन्त्य गर्न कठिन भए पनि यसको न्यूनिकरणका लागि सामूहिक प्रयास अनिवार्य रहेको बताए। अख्तियारमा परेका उजुरी र अदालतका मुद्दाले मात्र पर्याप्त परिणाम नदेखाएको भन्दै उनले धेरै अनियमितता उजुरीसम्म नपुग्ने समस्या रहेको उल्लेख गरे। अनुसन्धान प्रक्रिया अझ तथ्यपरक र प्रभावकारी बनाउन सुधार आवश्यक रहेको र भ्रष्टाचारका अवसर नै हटाउने नीतिगत व्यवस्था गर्नुपर्ने धारणा उनले राखे।
अन्तरक्रिया कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निर्देशनालय, तथा जिल्ला तहका कार्यालय प्रमुखहरूको सहभागिता थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदनअनुसार बागमती प्रदेशमा हालसम्म उजुरीको संख्या ११ हजार २ सय २७ पुगेको छ।







