हेटौँडा/नेकपा एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएका पश्चिम मकवानपुरका अधिकांश नेताहरु पुनः एमालेमा फर्किएका छन्। उनीहरुको पुनरागमनले अघिल्लो निर्वाचनमा समाजवादीका हेभिवेट उम्मेदवारलाई पराजित गरेका मकवानपुर–२ का एमाले उम्मेदवार महेश कुमार बर्तौलालाई थप उत्साह र संगठनात्मक बल पुगेको छ।
चार वर्षअघि एमाले छाडेर मनहरी गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नारायण श्रेष्ठ दलबलसहित एमालेमा फर्किएका छन्। मनहरी गाउँपालिका वडा नं. ६ भुलचोकस्थित पार्टी कार्यालयमा आयोजित ‘घर फर्क’ कार्यक्रममा श्रेष्ठसहित ७० जना एमालेमा प्रवेश गरेका हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा समाजवादीबाट अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठले १ हजार ६ सय १४ मत पाएका थिए। उनी लामो समय विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय भई एमालेको तत्कालीन उपाध्यक्षसमेत रहिसकेका नेता हुन्।
श्रेष्ठलाई पार्टीमा फर्काउन एमाले केन्द्रीय सदस्य तथा मकवानपुर–२ का उम्मेदवार बर्तौला, बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेती र जिल्ला कमिटी उपाध्यक्ष हिदम लामालगायतका नेताहरुले पहल गरेका थिए। पार्टीमा फर्किएपछि श्रेष्ठले पार्टी विभाजनले स्थानीय तहमा शून्य उपस्थिति सिर्जना गरेको उल्लेख गर्दै अब एमाले मनहरीमा पुनः बलियो हुने विश्वास व्यक्त गरे।
यसअघि नै मनहरी गाउँपालिकाकी उपाध्यक्ष तथा समाजवादीबाट उम्मेदवार बनेकी मनिला विष्ट पनि एमालेमा फर्किसकेकी छन्। समाजवादीका नेताहरु वीरेन्द्र डिसी, शिवकुमार काशी लगायत अधिकांश नेता अहिले एमालेमै क्रियाशील छन्।
पश्चिम मकवानपुरकै मनहरीका पूर्व गाविस अध्यक्ष तथा संविधानसभा सदस्य राजाराम स्याङ्तान पनि एमालेमा फर्किएका छन्। उनी घर फर्क अभियानपछि एमालेको मकवानपुर–२ निर्वाचन क्षेत्र परिचालन कमिटीमा सक्रिय छन्। त्यस्तै, राक्सिराङका पूर्वउपाध्यक्ष तथा संविधानसभा सदस्य गोविन्दराम चेपाङ पनि एमालेमा फर्केर बर्तौलाको चुनावी अभियानमा संलग्न छन्। उनीसँगै समाजवादीमा गएका अधिकांश चेपाङ नेताहरु पनि एमालेमा फर्किएका छन्।
राक्सिराङको घैयाबारीमा भएको मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार बर्तौलाले अघिल्लो निर्वाचनमा आफूलाई हराउन सक्रिय रहेका नेताहरु नै अहिले आफ्नै पक्षमा आएको बताउँदै यसलाई एमालेका लागि ठूलो उपलब्धि भने। २०७९ को निर्वाचनमा बर्तौलाले गठबन्धन उम्मेदवारलाई ४ हजार ५ सय २० मतले पछि पार्दै जित हासिल गरेका थिए। यसपटक समाजवादीका नेता–कार्यकर्ता ठूलो संख्यामा एमालेमा फर्किएपछि मकवानपुर–२ मा एमाले अझ सशक्त बन्दै गएको नेताहरुको दाबी छ।







