यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेकी छन्। निर्वाचित भएपछि गर्ने कार्य र प्राथमिकता समेटेर सार्वजनिक गरिएको उक्त संकल्पपत्रमा ९ प्रमुख क्षेत्रका प्रतिबद्धता समावेश गरिएको छ।
संकल्पपत्रअनुसार सुशासन र लोकतन्त्रको रक्षा अन्तर्गत संविधान, लोकतन्त्र, संघीयता र समावेशिताको संरक्षण गर्दै मानव अधिकारको प्रत्याभूति गरिने उल्लेख छ। ‘विद्युतीय सुशासन’मार्फत छरितो तथा भ्रष्टाचारमुक्त सेवा प्रवाह सुनिश्चित गर्ने, शान्ति, सुशासन र स्थिरता कायम गर्दै ‘मेरो निर्वाचन क्षेत्र–मेरो प्रतिबद्धता’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
पूर्वाधार विकासतर्फ रातोमाटेदेखि राप्ती पुल हुँदै चौकीटोलसम्म वैकल्पिक मार्ग सञ्चालन, त्रिभुवन राजपथअन्तर्गत बुद्धचोक–भैंसे खण्ड १६ मिटर कायम गरी पर्यटन मार्गका रूपमा विकास, बागमती–सिन्धुली सडक, निजगढ डम्बरपुर–चुच्चेखोला सडक र फास्ट ट्रयाक निर्माणमा समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। साथै विभिन्न वडालाई जोड्ने पक्की तथा झोलुङ्गे पुल निर्माण, सडक विस्तारबाट प्रभावितलाई क्षतिपूर्ति, सबै पालिकामा विद्युत र इन्टरनेट विस्तार, सार्वजनिक शौचालय, ढल निकास र व्यवस्थित बस्ती विकासमा जोड दिइने छ।
शिक्षा, अनुसन्धान र युवातर्फ मकवानपुरमा सरकारी इन्जिनियरिङ कलेज, आईटी तथा जैविक विविधता अनुसन्धान केन्द्र, चुरे ज्ञान केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ। सामुदायिक विद्यालयलाई सोलार ऊर्जामैत्री बनाउने, आधारभूत तहमा मातृभाषा शिक्षा, माध्यमिक तहमा गणित, विज्ञान र कम्प्युटर शिक्षक अनिवार्य गर्ने उल्लेख छ। बागमती विश्वविद्यालयमा हाइड्रो, अटो इन्जिनियरिङ र हस्पिटालिटीलगायत नयाँ विषय थप गर्ने, हेटौंडा–६ को बहुप्राविधिक महाविद्यालय सञ्चालन गर्ने, तारामण्डल प्रदर्शनी गृह तथा गायिका कोइलीदेवी संगीत प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता पनि संकल्पपत्रमा छ।
स्वास्थ्य सेवाअन्तर्गत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, प्रत्येक पालिकामा डायग्नोस्टिक ल्याबसहित अस्पताल, ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा तथा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य नीति ल्याउने उल्लेख छ। गर्भवती, सुत्केरी र नवजात शिशुका लागि विशेष पोषण र परामर्श सेवा तथा ‘हेल्थ इन अल पोलिसी’ अवधारणाअन्तर्गत योग, ध्यान र खुला व्यायामशालाको विकास गर्ने जनाइएको छ।
रोजगारी र उद्यमशीलतामा प्रत्येक पालिकामा सीपमूलक तालिम केन्द्र, ‘युवा स्वरोजगार सूचना केन्द्र’ स्थापना, उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि पार्ट टाइम जबसम्बन्धी कानुनी व्यवस्था, औद्योगिक क्षेत्रको विस्तार र पुनःसञ्चालन गर्ने योजना समेटिएको छ। कृषि, वन र जडीबुटीतर्फ ‘८ अ’ अभियानमार्फत विभिन्न नगदे तथा जडीबुटी बालीको व्यवसायीकरण, वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रमार्फत ब्रान्डिङ, फुसको छाना रहित मकवानपुर र एकीकृत बस्ती विकास गर्ने प्रतिबद्धता गरिएको छ।
पर्यटन तथा संस्कृतितर्फ धार्मिक र पर्यटकीय गन्तव्यको गुरुयोजना, विभिन्न जातिको संग्रहालय स्थापना, गढी संरक्षण, बागमती नदी तटमा कृषि पर्यटन र रक पार्क तथा कृत्रिम ताल निर्माण गर्ने उल्लेख छ। साथै दलित, आदिवासी, एकल महिला र अपांगता भएका नागरिक लक्षित विशेष रोजगार तथा सुरक्षा कार्यक्रम, भूमिहीन किसानलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन पहल, र विपद् व्यवस्थापनका लागि २४ घण्टा सेवा दिने एकीकृत कल सेन्टर सञ्चालन गर्ने प्रतिज्ञा गरिएको छ।
संकल्पपत्र सार्वजनिक गर्दै डिनाले निर्वाचित भएपश्चात् हरेक घरदैलोमा पुगेर जनताका समस्या र गुनासो सुनी समाधानका लागि दृढतापूर्वक काम गर्ने बताइन्। उनले क्षेत्र नम्बर १ का मतदातासमक्ष आफूलाई एकपटक काम गर्ने अवसर दिन आग्रह पनि गरेकी छन्।







