अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्ने AG Express ले मकवानपुरको हेटौंडामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित सितलमहल चोकमा बुधबारदेखि सेवा सुरु भएको शाखा कम्पनीको १६औँ शाखा हो।
नयाँ शाखाको उद्घाटन पूर्व प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंह ले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले मकवानपुरमा उत्पादन हुने सामग्रीलाई गुणस्तर कायम राख्दै विदेशसम्म पठाउन सके स्थानीय उद्यमीहरूले राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो।
कम्पनीका ग्लोबल सिइओ तथा अध्यक्ष तुलसी उप्रेती का अनुसार एजी एक्सप्रेस हङकङबाट सुरु भएको संस्था हो, जसले विभिन्न देश र सहरमा सेवा विस्तार गर्दै आएको छ। कम्पनीको मुख्य कार्यालय काठमाडौंको तिनकुनेमा रहेको छ।
उप्रेतीले एजी एक्सप्रेस केवल कुरियर कम्पनी मात्र नभई विदेशमा रहेका नेपाली र नेपालमा रहेका परिवारबीच भावनात्मक सम्बन्ध जोड्ने सेतु बन्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको बताउनुभयो।
कम्पनीका अनुसार हेटौंडा शाखामार्फत मकवानपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय डेलिभरी सेवा उपलब्ध हुनेछ। यसमार्फत हस्तकला, मसला, लत्ताकपडा लगायतका स्थानीय उत्पादन विदेशमा रहेका नेपालीसम्म सुरक्षित रूपमा पुर्याइनेछ भने विदेशबाट आउने उपहार तथा अन्य सामग्रीहरू पनि ग्राहकको घरदैलोमै डेलिभरी गरिने जनाइएको छ।
कार्यक्रममा नविन सिग्देल लगायत स्थानीय जनप्रतिनिधिले शाखा विस्तारले युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै रामप्रसाद पुडासैनी सहित कुरियर संघ नेपालका प्रतिनिधि, कम्पनीका कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कम्पनीले सेवा सञ्चालन पूर्ण रूपमा कानुनी प्रक्रियाअनुसार हुने र नेपाल सरकारलाई लाग्ने मूल्य अभिवृद्धि कर (VAT) तथा अन्य कर तिरेर सेवा प्रदान गरिने जनाएको छ।
एजी एक्सप्रेसले करिब १० करोड रुपैयाँ लगानीमा देशभरका महानगरपालिका र उपमहानगरपालिकामा १०० शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ।







