बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १६८ तथा बागमती प्रदेशसभा नियमावली, २०७४ बमोजिम दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
मुख्यमन्त्री थापामगरले सत्ता साझेदार दलहरूको समर्थनमा विश्वासको मत जुटाउने तयारी गरेका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना प्रदेशसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।
तर, सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विश्वासको मतलाई लिएर दुई धार देखिएको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापामगरको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी छन्। विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ बस्न वा बैठकमा अनुपस्थित हुनसमेत निर्देशन दिइएको छ।
यता, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहितको समूह भने मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिने पक्षमा देखिएको छ। सरकारमा राप्रपाबाट राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङ मन्त्री बनेका छन्। उनीहरूले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सम्भावना रहेको राप्रपा स्रोतको दाबी छ।
प्रमुख सचेतक तामाङलाई सरकार गठनअघि नै जिम्मेवारीबाट हटाइसकिएको दाबी सरकारमा सहभागी राप्रपाका मन्त्री राजु विष्टले गरेका छन्। संसदीय दलका नेता उद्धव थापाले पनि तामाङलाई यसअघि नै प्रमुख सचेतकबाट हटाएको दाबी गर्दै आएका छन्। यही विषयले राप्रपाभित्रको विवाद थप जटिल बनेको छ।
राप्रपाका १२ जना प्रदेशसभा सदस्य छन्। स्रोतका अनुसार हालसम्म करिब पाँच जना सांसद मुख्यमन्त्री थापामगरको पक्षमा खुल्ने सम्भावना देखिएको छ। उनीहरूमध्ये तीन मन्त्री र संसदीय दलका नेता उद्धव थापासहित थप सांसदलाई पक्षमा ल्याउने प्रयास भइरहेको बताइएको छ।
यसअघि पार्टीको केन्द्रीय निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरिसकेको छ। सरकारमा सहभागी तीन मन्त्रीलाई समेत केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ।
राप्रपाका सांसदहरूले पार्टीको केन्द्रीय निर्देशनविपरीत मुख्यमन्त्रीको पक्षमा मतदान गरे उनीहरूमाथि पनि अनुशासनात्मक कारबाही हुन सक्ने सम्भावना छ। त्यसैले आजको प्रदेशसभा बैठकमा राप्रपाका १२ सांसदमध्ये कति जना मुख्यमन्त्रीको पक्षमा उभिन्छन् भन्ने विषय सबैभन्दा चासोको बनेको छ।
मुख्यमन्त्री थापामगरलाई विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउन राप्रपाका सांसदहरूको भूमिका निर्णायक बन्न सक्ने देखिएको छ। यद्यपि, अन्तिम अवस्था भने प्रदेशसभा बैठकमा सांसदहरूको उपस्थिति र मतदानपछि मात्रै स्पष्ट हुनेछ।








