हेटौँडा/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उद्योगमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको अनुगमन गरेको विषयलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियोप्रति मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद प्रकाश गौतमले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
सांसद गौतमले आफूलाई मन्त्रीको आगमनबारे जानकारी नै नभएको भन्ने आशयका केही सेकेन्डका भिडियो क्लिप सामाजिक सञ्जालका विभिन्न पेज तथा मिडियामार्फत अनधिकृत रूपमा भाइरल गरिएको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारेका छन्।
गौतमका अनुसार मन्त्री यादवसँग भएको कुराकानीमा मन्त्री आउने जानकारी आफूलाई भए पनि अनुगमनको समयबारे भने ढिला गरी जानकारी गराइएको विषय स्पष्ट भएको थियो। सोही कुराकानीका क्रममा व्यक्त गरिएका भनाइलाई केही सेकेन्डका छुट्टाछुट्टै क्लिपमा काटेर सामाजिक सञ्जालमा राखी विषयलाई अतिरञ्जित गरिएको उनले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सर्कुलरअनुसार कुनै क्षेत्रमा पार्टीका मन्त्रीहरू पुग्दा सम्बन्धित क्षेत्रका सांसदलाई जानकारी गराउने व्यवस्था रहेको गौतमले बताए। सोही सर्कुलरअनुसार आफूलाई मन्त्री यादव मकवानपुर आउने जानकारी रहेको उनको भनाइ छ।
तर, अनुगमनको समय र सुरक्षा व्यवस्थासम्बन्धी समन्वयमा भने ढिलाइ भएको गौतमले दाबी गरेका छन्। यस विषयमा उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारीसँग समेत कुराकानी गरेका थिए।
प्रमुख जिल्ला अधिकारीले मन्त्रीहरू जिल्ला प्रवेश गरिसकेपछि मात्र केन्द्रबाट जानकारी प्राप्त भएको र जिल्लाको मातहतमा सुरक्षा व्यवस्थाका लागि तयारी गर्न भीमफेदी पुगेपछि मात्र जानकारी भएको बताएको गौतमले उल्लेख गरेका छन्।
सांसद गौतमले सामान्य समन्वयको विषयलाई तोडमोड गरी आफूलाई मन्त्रीको आगमनबारे कुनै जानकारी नै नभएको जस्तो देखाउने गरी भिडियो क्लिप प्रसारण तथा प्रचार गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनले घटनाको वास्तविकता बुझेर मात्र समाचार तथा सामग्री सम्प्रेषण गर्न आग्रह गरेका छन्।








