बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मीला नेपालले प्रदेशलाई खेलकुदमैत्री बनाउने लक्ष्यसहित अघि बढेको बताएकी छन्। उनले खेलकुदमैत्री वातावरण सिर्जना गर्दै आवश्यक पूर्वाधार निर्माणमा प्राथमिकता दिइने स्पष्ट पारेकी हुन्।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत बिहीबारदेखि सुरु भएको प्रथम आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री नेपालले यस्तो बताएकी हुन्।
उनका अनुसार प्रदेशले नवप्रतिभाशाली खेलाडीहरूको खोजी गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य लिएको छ। “एक स्थानीय तह, एक खेल पूर्वाधार” कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै उनले खेलकुद नीति निर्माण प्रक्रिया अगाडि बढाइएको र त्यसले खेलाडीको पहिचान, प्रोत्साहन तथा भविष्य सुनिश्चित गर्ने दाबी गरिन्।
मन्त्री नेपालले खेलकुदले युवाहरूलाई कुलतजस्ता नकारात्मक गतिविधिबाट टाढा राख्दै राष्ट्र निर्माणमा योगदान गर्न प्रेरित गर्ने उल्लेख गरिन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले देशको झण्डा फहराउँदा सम्पूर्ण नेपाली एकताबद्ध हुने भावनाको विकास हुने बताइन्।
प्रदेश सरकार खेलाडीप्रति संवेदनशील रहेको उल्लेख गर्दै उनले खेलाडी व्यवस्थापन र विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाइन्। खेलकुद क्षेत्रको विकासका लागि छिट्टै प्रदेशस्तरीय प्रतियोगिता तथा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिइन्।
हाल ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई देशमै अवसर सिर्जना गर्न खेलकुद क्षेत्रलाई सशक्त बनाउने आवश्यकता रहेको उनले औंल्याइन्।
मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यका अनुसार प्रतियोगितामा ११ जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रदेश खेलकुदका पूर्व बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानलगायतको उपस्थिति रहेको थियो।







