नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउप्रति कडा आपत्ति जनाएको छ।
जिल्ला कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा भदौ २३ र २४ गते जेञ्जीको नाममा भएका आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गरिएको पक्राउलाई प्रतिशोधपूर्ण र पूर्वाग्रहयुक्त कदम भएको आरोप लगाइएको छ।
मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामाद्वारा जारी विज्ञप्तिमा सरकारले यस्तो कदममार्फत मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने प्रयास गरेको उल्लेख गरिएको छ। साथै, गैरकानुनी रूपमा पूर्जी जारी गरी गरिएको पक्राउले नेपालको कानुनी राज्यको उपहास भएको पनि जनाइएको छ।
एमाले मकवानपुरले अध्यक्ष ओलीको पक्राउलाई गैरसंवैधानिक, गैरराजनीतिक तथा प्रतिशोधपूर्ण कदम भएको ठहर गर्दै तत्काल बिना सर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।







