हेटौँडास्थित सहिद स्मारक क्षेत्रमा निर्माणाधीन जनजाति सङ्ग्रहालय आगामी असारको अन्तिम सातासम्म सञ्चालनमा आउने भएको छ। सङ्ग्रहालयको पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी स्मारक विकास समितिका सदस्य नवीन सिग्देलले दिएका छन्।
सङ्ग्रहालय सञ्चालनको तयारीस्वरूप विभिन्न जनजाति संगठनका अगुवाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आदिवासी जनजाति समुदायको भेषभूषा, रहनसहन, रीतिरिवाज, भाषा र संस्कृतिको पहिचान झल्काउने सामग्री संकलन गरी सङ्ग्रहालयमा राखिने बताएका छन्। उनले उक्त सङ्ग्रहालय अवलोकनसँगै अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास हुने तथा विभिन्न जातजातिका असल संस्कार र मूल्यमान्यताको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सङ्ग्रहालयका लागि चेपाङ, तामाङ, नेवार, थारू, माझी, मगर, गुरुङ, राई, लिम्बू, किराँत राई, सुनुवार, बनकरिया, पहरीलगायतका समुदायको पहिचान झल्काउने सामग्री संकलन गर्ने कार्य अगाडि बढाइएको छ।
छलफल तथा अन्तरक्रियाबाट सङ्ग्रहालय सञ्चालनका लागि आवश्यक सामग्री संकलन तथा समन्वय गर्न रामकृष्ण थापाको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा विभिन्न जनजातिका अगुवाहरू सदस्य रहेका छन्।
कार्यक्रममा स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, सचिव रघुनाथ खुलाल, सदस्यहरू नवीन सिग्देल, इन्द्रप्रसाद नेपाल, कृष्णराम न्यौपाने, स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपाने तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलगायत विभिन्न जातीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







