मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले गरेका काम र उपलब्धिबारे नागरिकलाई पर्याप्त जानकारी दिन नसकिएको स्वीकार गर्नुभयो । प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्ने गरेको सन्दर्भमा संघीयता कार्यान्वयनपछि भएका विकास निर्माणका कामको मूल्याङ्कन गर्न उहाँले आग्रह गर्नुभयो ।
मकवानपुरसहित बागमती प्रदेशका १३ वटै जिल्लामा पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा उल्लेख्य काम भएको उहाँको दाबी थियो । मकवानपुर जिल्लामा संघीयता कार्यान्वयनपछि पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उहाँले विगतमा सीमित सडक मार्गबाट मात्रै जिल्ला पुग्न सकिने अवस्था रहेकामा अहिले पाँचवटा गुणस्तरीय सडक मार्ग निर्माण तथा स्तरोन्नति भएको बताउनुभयो ।
बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको र केही दिनभित्रै निर्माणको ठेक्का प्रक्रिया अघि बढाइने मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो । अहिले विभिन्न सरकारी भवनबाट मन्त्रालय तथा प्रदेश मातहतका कार्यालय सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले प्रशासनिक भवन निर्माणपछि प्रदेश राजधानीको संरचना थप व्यवस्थित हुने बताउनुभयो । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८२÷०८३ मा सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, खेलकुद तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा हासिल गरेका प्रगति प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती, बागमती प्रदेशसभा सदस्यहरू कुमारी मोक्तान, भारती पाठक र प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो ।






