बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लक्ष्मीपूजाको अवसरमा घरपरिवार र समाजमा रहेका महिलाको सम्मान र आदर गर्न आग्रह गरेका छन् ।
तिहारलाई धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइरहँदा मुख्यमन्त्री थापामगरले यसलाई नारी शक्ति र महिला सम्मानसँग जोड्दै धार्मिक आस्था व्यवहारमा पनि देखिनुपर्ने बताएका हुन् ।
लक्ष्मीपूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै सम्मान गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस् ।’
मुख्यमन्त्री थापामगरले संसारका तीन प्रमुख शक्ति बल, विद्या र धन रहेको उल्लेख गर्दै ती तीनै शक्ति स्त्री स्वरूपमा रहेको बताएका छन् । बलकी प्रतीक पार्वती, विद्याकी प्रतीक सरस्वती र धनकी प्रतीक लक्ष्मीको उदाहरण दिँदै उनले नारी शक्तिको महत्त्वलाई आत्मसात् गर्न आग्रह गरेका छन् ।
‘स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता,’ उनले भनेका छन्, ‘त्यसैले आफ्नो मनोबल उच्च राखौँ, स्त्री शक्तिको सम्मान गरौँ ।’
दशैँमा शक्तिको उपासना गरेपछि तिहारमा लक्ष्मीको आराधना गर्ने धार्मिक परम्परालाई स्मरण गराउँदै उनले नारी सम्मानलाई पूजा र अनुष्ठानमा मात्र सीमित नराखी दैनिक जीवन र सामाजिक व्यवहारमा समेत लागू गर्नुपर्ने सन्देश दिएका छन् । उनले शुभकामना सन्देशमा मनुस्मृतिको श्लोकसमेत उद्धृत गरेका छन् ।
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।’
यसको अर्थ जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ र जहाँ नारीको सम्मान हुँदैन, त्यहाँ गरिएका सबै शुभकर्मसमेत निष्फल हुन्छन् भन्ने रहेको उनले उल्लेख गरेका छन् ।
महिला सम्मानलाई औपचारिकता र धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी व्यवहारमै उतार्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापामगरले महिला सम्मानमा समर्पित तिहार नारी उत्थानको कडी बन्ने विश्वास व्यक्त गरेका छन् ।
उनले लक्ष्मीपूजाको अवसरमा समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र खुसीको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।






