नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले मनहरी गाउँपालिका–६, पोलोघारीका तीन चेपाङ परिवारका लागि निर्माण गरेका घर हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मानबहादुर प्रजा, रबिलाल प्रजा र सूर्य प्रजालाई नवनिर्मित घर हस्तान्तरण गर्नुभएको हो।

घर हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री थापा मगरले राज्यको मूलधारबाट लामो समयदेखि वञ्चित चेपाङ समुदायको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले विशेष पहल गर्ने बताउनुभयो। उहाँले घरबारविहीन अन्य चेपाङ परिवारका लागि समेत आवास निर्माण गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्दै आवश्यकताअनुसार थप घर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बढ्दो चिसोलाई मध्यनजर गर्दै कुनै पनि नागरिक न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिनुपर्ने अवस्था आउन नदिने बताउनुहुँदै उहाँले आवासविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो। घर प्राप्त गरेका तीनै परिवारलाई आवश्यक घरायसी सामग्री उपलब्ध गराउन पहल गर्ने तथा जीविकोपार्जनमा सहयोग पुर्याउन बाख्राका पाठापाठी र कुखुराका चल्ला वितरण गर्ने अभियानसमेत सञ्चालन गरिने बताउनुभयो। 
चेपाङ समुदायलाई जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीयस्तरमै आयआर्जनका अवसर सिर्जना गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
नेकपा एमाले मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदीका अनुसार पोलोघारीमा बसोबास गर्दै आएका २८ चेपाङ परिवारमध्ये तीन परिवारका लागि पार्टी कमिटीका सदस्यबाट रकम संकलन गरी घर निर्माण गरिएको हो। प्रतिपरिवार करिब ३ लाख रुपैयाँको लागतमा घर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।
सबैको सहयोग र पहलमा घर निर्माण गर्न सफल भएको बताउँदै अध्यक्ष सुवेदीले बाँकी परिवारका लागि पनि घर निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो। नागरिकतासमेत नभएका ती परिवारलाई आफ्नो पहलमा नागरिकता दिलाउन सफल भएको उहाँको भनाइ छ।
घर हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौला, जिल्ला अध्यक्ष हिदम लामा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। 






