भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा ‘चितवन अटो शो २०२६’ को दोस्रो संस्करण भव्य रूपमा सुरु भएको छ। चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसन र चितवन अटोमोवाइल्स एशोसिएसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघले सहकार्य गरेका छन्।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको हो। उद्घाटन समारोहमा उहाँले प्रदेश सरकारले आगामी नीतिमा अटो व्यवसायीहरूको समस्याको समाधान गर्ने तथा प्रत्येक वर्ष अटो शोका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संयोजक राजन पियाले अटो शोको उद्देश्य र कार्यक्रमबारे जानकारी दिनुभयो। कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारी, नेपाल अटो मेकानिकल व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे तथा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक कुमार पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
आयोजकका अनुसार अटो शोले नवीन प्रविधि, सवारीसाधन तथा विशेष अफरहरू एकै ठाउँमा उपलब्ध गराउँदै अटोमोबाइल बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। विशेषगरी विद्युतीय सवारी (ईभी) र आधुनिक प्रविधिबारे उपभोक्तालाई जानकारी गराउने, नयाँ गाडी खरिदअघि निरीक्षण गर्ने तथा बजारको अवस्थाबारे बुझ्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ। 
अटो शोमा सवारीसाधन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा बैंकिङ सेवा एकै ठाउँमा उपलब्ध हुनेछन्। साथै, अटो क्षेत्रका विज्ञहरूद्वारा ‘अटो सेमिनार’ तथा विद्यार्थी र अभिभावक लक्षित ‘हेल्मेट प्रयोग सचेतना कार्यक्रम’ र अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण कार्यक्रम पनि सञ्चालन गरिनेछ।
करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस अटो शोमा ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। साथै, दैनिक स्थानीय कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।
कार्यक्रमको समापन चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी.ले गर्नुभयो।







