हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडीमा आगामी असार १३ गते शनिबार निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। टोल विकास संस्था स्थापना भएको २६ वर्ष पूरा भएको अवसरमा स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ को सह–आयोजनामा तथा मकवानपुर सहकारी अस्पतालको समन्वयमा शिविर सञ्चालन हुन लागेको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–१८ को व्यवस्थापन रहनेछ।
शिविर तयारीका लागि आयोजित बैठकमा वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाँ, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका सचिव अर्जुनप्रसाद बिडारी, जनसम्पर्क अधिकृत रोयल बानियाँ, वडा समन्वय समिति हेटौंडा–१८ की अध्यक्ष विमला बिसुङ्खेलगायत विभिन्न टोल विकास संस्था, संघसंस्था तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।
बैठकमा बोल्दै नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले समुदायको स्वास्थ्य अवस्था सुधार गर्न र विशेषज्ञ स्वास्थ्य सेवालाई नागरिकको पहुँचसम्म पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले शिविरको जानकारी घरघरमा पुर्याई अधिकतम नागरिकको सहभागिता सुनिश्चित गर्न टोल विकास संस्थाहरूलाई आग्रह गर्नुभयो।
वडा अध्यक्ष अनिलकुमार बानियाँले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै वडा कार्यालयले सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो। शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आर्थिक रूपमा विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले सबै वडावासीलाई सहभागिताका लागि आग्रह गर्नुभयो।
असार १३ गते शनिबार बिहान ८ बजेदेखि हर्नामाडीस्थित ज्योति उच्च माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुने शिविरमा मुटुरोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, युरोलोजी, स्त्री तथा प्रसूति रोगलगायतका विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ।
त्यसैगरी आवश्यक औषधि निःशुल्क वितरण गरिनुका साथै रक्तचाप, मधुमेहलगायत आधारभूत स्वास्थ्य परीक्षण सेवासमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
आयोजकले हेटौंडा–१८ भित्रका सम्पूर्ण टोल विकास संस्था, स्थानीय संघसंस्था तथा सर्वसाधारण नागरिकलाई शिविरमा सहभागी भई विशेषज्ञ स्वास्थ्य सेवाको लाभ लिन अनुरोध गरेका छन्।







