हेटौँडा/‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनका लागि हेटौँडामा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ। हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा पशु सेवा कार्यालय हेटौँडाले अन्तरक्रिया आयोजना गरेको हो।
सरकारले ऐनलाई चरणबद्ध रूपमा देशभर कार्यान्वयन गर्ने निर्णय गरेसँगै हेटौँडामा पनि यसको कार्यान्वयन प्रक्रिया अघि बढाइएको पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो।
ऐन पूर्ण रूपमा कार्यान्वयनमा आएपछि तोकिएका वधशालामा मात्र पशु वध गर्नुपर्ने, वधअघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने तथा मासुको अनिवार्य जाँच गर्नुपर्ने व्यवस्था हुनेछ। उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउने, अव्यवस्थित पशु वधलाई नियन्त्रण गर्ने र वधशालालाई व्यवस्थित बनाउने उद्देश्यले ऐन कार्यान्वयन गर्न लागिएको हो।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर ओली, माछा,मासु व्यवसायी संघका अध्यक्ष शान्तकी खड्की, भैरव बहादुर कुमाल शाखा अधिकृत पशु शाखा हेटौडाउपमहानगरपालिका, सञ्चारकर्मी लगायत सरोकारवालाको उपस्थिति रहको थियो।










