बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले आज सूचना जारी गर्दै कात्तिक ११ देखि १४ गतेसम्म हुन सक्ने वर्षाका कारण बाढी, पहिरो, सडक अवरुद्ध तथा कृषि उपजमा क्षति पुग्न सक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको हो।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनका आधारमा प्रशासनले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ।
वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउनुका साथै चुरे र पहाडी क्षेत्रमा पहिरो खस्ने जोखिम रहेकाले नदीकिनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ। वर्षाको समयमा खोला तर्ने, माछा मार्ने र दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि प्रशासनले अनुरोध गरेको छ।
किसानलाई पाकेको धानबाली भित्र्याउन आग्रह
सम्भावित वर्षाले कृषि उपजमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई पाकेको धानबाली तथा अन्य कृषि उपज कात्तिक ११ गते बुधबारभित्र सुरक्षित रूपमा भित्र्याउन प्रशासनले आग्रह गरेको छ। वर्षा सुरु भएपछि बाली काट्ने काम नगर्न र भण्डारण गरिएका कृषि उपजसमेत सुरक्षित राख्न अनुरोध गरिएको छ।
त्रिभुवन र कान्ति लोकपथमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने
सम्भावित वर्षाका कारण त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौं जोड्ने छोटा मार्ग तथा ग्रामीण सडकमा पहिरो खस्ने र यातायात अवरुद्ध हुन सक्ने जोखिम रहेकाले प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको छ।
यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका व्यक्ति तथा बिरामीलाई विशेष प्राथमिकतामा राखी सुरक्षित स्थानमा राख्न भनिएको छ। साथै, चौपाया र महत्त्वपूर्ण कागजात सुरक्षित राख्नसमेत आग्रह गरिएको छ।
सम्भावित विपद् व्यवस्थापनका लागि जिल्लाका सबै स्थानीय तहलाई विपद् प्रतिकार्य संयन्त्र, स्वयंसेवक तथा राहत र उद्धार टोली तयारी अवस्थामा राख्न प्रशासनले निर्देशन दिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयमै सतर्कता अपनाउन र विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणमा सहयोग गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ।






