काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले दिने सार्वजनिक सेवालाई चुस्त र भरपर्दो बनाउन सचिवहरूलाई निर्देशन दिएका छन् । तेस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहालले मंगलबार सचिवहरूलाई निर्देशन दिँदै एकले अर्कोलाई देखाएर कमजोरीबाट उम्कन कसैलाई पनि छुट नभएको बताएका हुन् ।
निर्देशनका क्रममा प्रधानमन्त्री दाहालले राहदानी लिन, राष्ट्रिय परिचयपत्र बनाउन, सवारी लाइसेन्स लिन, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट लिन, सरकारी अस्पतालमा उपचार गराउन, मालपोत, नापी, करदस्तुर बुझाउन सेवाग्राहीले अहिलेजस्तै एक महिनापछि पनि लाइनमा बस्नुपर्न अवस्था आए सम्बन्धित अधिकारी कारबाहीमा पर्ने बताए । उनले सचिवहरूलाई सुशासनसम्बन्धी ३० बुँदे निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले ठूला आयोजनामा विनियोजन भएको बजेट, हालसम्मको खर्च तथा भौतिक प्रगति विवरण र विकास आयोजनालाई तीव्रता दिने उपायसहितका योजना तत्काल तयार गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।
चुनावका क्रममा प्रधानमन्त्री भएर मुलुकमा सुशासन, विकास र समृद्धिको नेतृत्व गर्ने रहर भएको बताएका दाहालले सिंहदरबारमा पुगेपछि प्रशासनिक कार्यालयमा सचिवहरूलाई सुशासन कायम गर्न निर्देशन दिएका हुन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।