भोटेकोशी बाढीका कारण राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भई विद्युत् सेवा प्रभावित भएका क्षेत्रमा अत्यावश्यक सार्वजनिक सेवा सञ्चालन सहज बनाउन सरकारले वैकल्पिक ऊर्जा प्रणाली परिचालन थालेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) मार्फत स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा वडा कार्यालयलगायत अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा २ किलोवाटपिक (kWp) क्षमताका संस्थागत सौर्य विद्युत् प्रणाली जडान तथा हस्तान्तरण गर्ने कार्य अघि बढाएको हो।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा रसुवाको उत्तरगया गाउँपालिकामा तीन वटा संस्थागत सौर्य विद्युत् प्रणाली हस्तान्तरण गरिएको छ। राष्ट्रिय प्रसारण लाइन अवरुद्ध रहेका क्षेत्रमा यी प्रणालीबाट अत्यावश्यक सार्वजनिक सेवा सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारले बाढी तथा अन्य प्राकृतिक विपद्का कारण विद्युत् सेवा प्रभावित भएका क्षेत्रमा आवश्यकता र प्राथमिकताका आधारमा वैकल्पिक ऊर्जा प्रणाली विस्तार गर्दै जाने जनाएको छ।
विपद्का समयमा स्वास्थ्य, शिक्षा तथा स्थानीय प्रशासनजस्ता अत्यावश्यक सेवा विद्युत् अभावका कारण प्रभावित हुन नदिन सरकार निरन्तर सक्रिय रहेको मन्त्रालयले जनाएको छ।








