हेटौँडा/ जेसीआई हेटौँडा लेडीको आतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०२६ आगामी भदौ १९ र २० गते हेटौँडामा आयोजना हुने भएको छ। ‘संकल्प गरौँ, कार्य गरौँ, सफलता हासिल गरौँ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलन निर्देशक सुशिला पौडेलले क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाबाट ७ सयभन्दा बढी प्रतिनिधि तथा सहभागी सम्मेलनमा सहभागी हुने जानकारी दिइन्। सम्मेलनमा म्याग्दीदेखि हरिवन सिटीसम्मका ११ जिल्लाका जेसीज सदस्य, पदाधिकारी, सक्रिय युवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
युवाको नेतृत्व विकास, व्यक्तित्व निर्माण, क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
सम्मेलन सम्पन्न गर्न करिब ४५ देखि ५५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको सम्मेलन सभापति सपना पौडेल भण्डारीले जानकारी दिइन्। सहभागीको दर्ता शुल्क, विभिन्न संघसंस्था, शुभेच्छुक, व्यक्तिगत योगदान तथा सहयोगी निकायको सहकार्यबाट सम्मेलनको आर्थिक व्यवस्थापन गरिने उनले बताइन्। आर्थिक व्यवस्थापनमा पारदर्शिता, जिम्मेवारी र जवाफदेहितालाई प्राथमिकता दिइने आयोजकको भनाइ छ।
यसैबीच, गत भदौ १० गते रसुवाको टिमुरे क्षेत्रमा भएको दुःखद घटनाप्रति जेसीआई हेटौँडा लेडीले दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। घाइते तथा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाल जेसीजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार, राहत तथा पुनःस्थापना कोषमार्फत १० लाख रुपैयाँ सहयोग गरिसकेको जानकारीसमेत दिइएको छ।
आयोजकका अनुसार देशभरका ८० भन्दा बढी जेसीज शाखामार्फत प्रभावित क्षेत्रमा राहत तथा सहयोग वितरण गरिएको छ। दिवंगत आत्माको सम्मान तथा पीडितप्रति ऐक्यबद्धता जनाउँदै भदौ २० गते बिहान ७ बजे हेटौँडामा शान्ति पदयात्रा आयोजना गरिने भएको छ। पदयात्रामार्फत शान्ति, सद्भाव, एकता र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा जेसीआई हेटौँडा लेडीकी अध्यक्ष नम्रता श्रेष्ठ, पूर्वअध्यक्ष रश्मि बस्नेत तथा निवर्तमान अध्यक्ष अस्मिता न्यौपानेलगायतको उपस्थिति रहेको थियो।








